Logo

नगर अस्पतालको भवन निर्माण अलपत्र



– हेमन्त केसी

जाजरकोट, २२ जेठ । पन्ध्र शय्याको अस्पताल निर्माण सुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र बनेको छ । निर्माण सम्झौता मिति सकिन एक महिना बाँकी रहँदासम्म पनि पहिरो नियन्त्रण गरी अस्पताल निर्माण गर्ने विषयमा ठोस सहमति नहुँदा भवन निर्माण अलपत्र परेको हो ।

नगर अस्पताल निर्माण अलपत्र परेपछि अहिले अस्पतालको सेवा निजी विद्यालयको भवनबाट सञ्चालित छ ।

यही असार मसान्तसम्म निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी विसं २०७७ असारमा माउन्टेन इन्फा कम्पनी लिमिटेड लाजिम्पाट काठमाडौँले नगर अस्पताल निर्माणको जिम्मा लिएको थियो । पन्ध्र शय्याको उक्त अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षपछि निर्माण व्यवसायीले काम गर्न छाडेका थिए । एक तला निर्माण सम्पन्न भएको उक्त भवन पहिराका कारण अगाडि बढाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

भवन निर्माणको काम गरिरहेका व्यवसायीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गलत भएका कारण आफूले काम गर्न नसक्ने बताएको नगर उपप्रमुख चन्द्रबहादुर थापाले बताए । “पहिराका कारण भवनको तल र माथि भाँसिएको छ । अस्पताल निर्माण भइरहेको ठाउँमा दुई सय मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गर्र्दै आएका छन्”, उनले भने ।

डिपिआर तयार गर्दा नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाको भनाइ थियो । “डिपिआर निर्माण गर्ने समूह, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अझैँ ठोस सहमति भइसकेको छैन”, उनले भने ।

पहिरो रोकथाम नगरी भवन निर्माण अगाडि बढाउनसक्ने अवस्था नभएकाले पहिरो नियन्त्रणका लागि रू दुई करोड आवश्यकपर्ने नगर उपप्रमुख थापाले बताए । उनका अनुसार थप रकमका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । सम्झौतामा रू १८ करोडमा उक्त भवन निर्माण गर्ने सहमति भएको थियो । भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरुसँग नभएको उपप्रमुख थापाले बताए ।

एलाइट इन्जिनियरिङ सोलोसन काठमाडौँले उक्त भवनको डिपिआर तयार गरेको नगरपालिकाका इन्जिनियर प्रेम केसीले बताए । “सङ्घीय सरकारबाट प्राप्त रू १८ करोडमध्ये ठेक्का हाल्दा रू १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले काम सुरु गरेका थिए”, उनले भने । इन्जिनियर केसीका अनुसार उक्त ठाउँमा भवन निर्माण नहुने सम्भावना बढी रहेको छ ।

रू १९ लाख खर्च गरेर बनाएको डिपिआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्ने चिन्ता उत्पन्न भएको नगरपालिकाका कर्मचारी बताउँछन् । भवन निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाजे पनि गलत डिपिआरका कारण निर्माण पूरा गर्दा थप समस्या आउने भएकाले पहिरो नियन्त्रण गरेर मात्र काम अगाडि बढाउनुपर्ने बताउँदै आएका छन् ।

निजी विद्यालयमा नगर अस्पताल

छेडागाड नगरपालिकाको नगर अस्पताल अहिले निजी विद्यालयको भवनबाट सञ्चालित छ । भवन निर्माण सुरु भए पनि काम सम्पन्न नभएकाले विद्यालयबाट सेवा दिनुपरेको अस्पतालका प्रमुख धनिषकुमार खड्काले बताए । “नाम मात्रको अस्पताल बन्न पुगेको छ । डाक्टर, स्टाप नर्स, एचए, ल्याप टेक्निसियन र ल्याप असिसटेन्टमा एक जना पनि स्वास्थ्यकर्मी नहुँदा अस्पतालका साबै काम ठप्प छन्”, उनले भने ।

प्रमुख खड्काका अनुसार अस्पतालमा बत्तीकोसमेत समस्या हुँदै आएको छ । छ जना स्टापनर्सको दरबन्दीमा एक जना पनि नभएको उनले बताए। “बर्थिङ सेन्टर र नगर अस्पताल अलग ठाउँमा हुँदा अर्को समस्या थपिएको छ । एचएको दरबन्दी सङ्ख्या चार रहे पनि एक जना करारको बाहेक अरु छैनन् । ल्याप सेवा तीन महिनादेखि बन्द छ”, उनले भने ।

प्रमुख खड्काका अनुसार ल्याब असिस्टेन्टको दुई जना दरबन्दी पनि खाली छ । “ल्याब टेक्निसियन एक जनाको दरबन्दी भए पनि अहिले उनी सुत्केरी बिदामा छन्”, उनको भनाइ थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्स–रे, इसिजी, भेन्टिलेटर र अक्सिजन मेसिन प्रयोगमा आउन नसकेको उल्लेख गर्दै प्रमुख खड्काले कर्मचारी अभावका कारण सबै सामान थन्काएर कोठा बन्द गरी राख्नु परेको गुनासो गरे । रासस



प्रतिक्रिया दिनुहोस्