Logo

नेपालीलाई धेरै फुर्सद छ, नकारात्मक कुरामा रमाउँछौं : डा. क्षेत्री



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले बजेट निर्माणमा भइरहेको विवाद नकारात्मक चिन्तनको उपज भएको टिप्पणी गरेका छन् ।
‘नेपालीलाई धेरै फुर्सद छ । हामी नकारात्मक कुरा गर्नमै रमाउँछौं । बजेट निर्माणमा अलिअलि केही न केही आशंका रहेको होला । तर यकिन नगरीकन आक्षेप मात्र लगाउनु उचित होइन । आफ्नो विगत बिर्सेर कताबाट खोट पाइन्छ, त्यो खोजेर तिललाई पहाड बनाउने काम भइरहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. क्षेत्रीले अर्थमन्त्रीले बनाएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष दिनु उपयुक्त नहुने पनि बताए । उनले भने, ‘विगतमा उहाँ (केपी शर्मा ओली) का अर्थमन्त्रीले यही कुरा गर्नुभएको थियो । विद्युतीय गाडीमा कर बढाएको, चकलेटमा घटाएको भनी आलोचना भएको थियो । अहिले प्रचण्डजी आफैं अर्थमन्त्री त हुनुहुन्न नि । अर्थमन्त्री त नेपाली कांग्रेसका नेता हुनुहुन्छ । यतिसम्म नगरेको भए हुन्थ्यो ।’
करका दरको गोपनीयता खुलेको हो भने त्यो विचारणीय भएको पनि उनले औंल्याए । डा. क्षेत्रीले भने, ‘बजेट कार्यान्वयनको समस्या त छँदै थियो । करका दरको गोपनीयता खुलेको हो भने अब निर्माणमै समस्या देखियो । करका दर कसैलाई पनि थाहा नदिईकन सिल लगाएर राख्ने चलन छ । त्यो गोपनीयता भंग हुनु उचित होइन ।’ उनले कतिपय स्थितिमा करका दर हेरफेर प्राकृतिक हुने पनि बताए ।
बजेटमा सेनेटेरी प्याडमा ५ प्रतिशत कर लगाउनु आन्तरिक उत्पादनका खपतलाई बढावा दिन ल्याएको डा. क्षेत्रीको तर्क छ । भारतबाट आउने तरकारीमा भ्याट लगाउनु पनि सकारात्मक भएको उनले बताए । सांसदहरुलाई पाँच करोड दिने कुरा भने विचारणीय रहेको उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्