Logo

चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने



मकवानपुर, जेठ २४ । काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ। दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ मार्ग नियमित मर्मतसम्भारको अभावमा जीर्ण बनेको थियो। सुरुङ मार्गको करिब बिच भागमा सुरुङ धसिएर पुरिएपछि वारपार गर्न सकिने अवस्थामा थिएन। अहिले धसिएको भाग हटाएर सुरुङ वारपार गर्न सकिने भएको हो।

बागमती प्रदेश सरकारले ऐतिहासिक महत्त्वको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धारको काम गरिरहेको छ। चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ प्रयोगविहीन बनेको थियो। अहिले यो सुरुङ मार्गको पुनर्निर्माण बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत भइरहेको छ। निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले सुरुङ मार्गका दुवैतर्फको प्रवेश द्वार खुला रहे पनि सुरुङको बिच भाग धसिएपछि अवरुद्ध रहेकोमा अहिले छिचोल्ने काम पूरा भएको जानकारी दिए।

“सुरुङको बिचमा करिब ४० मिटर धसिएको भाग हटाइएको छ। यो भाग मर्मतसम्भारपछि अब सुरुङबाट वारपार गर्न सकिने भएको छ,” उनले भने। उनका अनुसार भासिएको स्थानमा सुरुङ तोडेर ढुङ्गा, माटो निकाल्ने काम भइरहेको छ। साढे दुई मिटर चौडा र तीन मिटर उचाइ तथा पाँच सय मिटर लम्बाइको यो सुरुङ मार्गको आधाभन्दा बढी भाग हेटौँडा–पथलैया सडक विस्तारका क्रममा भत्काइएको थियो। सुरुङ मार्गको दक्षिण प्रवेश द्वार बाँकी रहे पनि उत्तरतर्फ सडक विस्तारका क्रममा क्षति भएकाले अर्को प्रवेश द्वार निर्माण गरिएको छ।

तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँको लागतमा गत वर्षको वैशाख १९ भित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। समयमा काम पूरा नभएपछि गत पुससम्म म्याद थप गरिएको थियो। पछिल्लो पटक थपिएको समयमा पनि प्राविधिक जटिलता आएको र मर्मत गर्नुपर्ने सुरुङ मार्गको भाग थपिएको भन्दै पुनः म्याद थप्न निर्माण कम्पनीले निर्देशनालयसँग माग गरेको थियो। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्