Logo

एमाले नेतालाई धमलाको प्रश्न– केपी ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न लाग्नुभएको हो ?



काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले आफ्नो पार्टीले अस्थायी रुपमा ७० वर्षे उमेर हद हटाएको दाबी गरेका छन् ।
‘मुकुन्द न्यौपानेजी भरखरै एमाले प्रवेश गर्नुभयो । उहाँ ७२ वर्षको हुनुभयो । केन्द्रीय समितिमा आउनुभएको छ । उहाँका निम्ति केही बाध्यता पर् यो होला । ७० वर्ष नाघेका अरु पनि नेताहरु एमालेमा आउँदै हुनुहुन्छ होला । यो अस्थायी प्रयोजनका लागि हुन सक्छ । यसमा धेरै टाउको नदुखाऊँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
बामदेव गौतम पनि एमाले प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा बडालले थपे, ‘को आउनुहुन्छ, को आउनुहन्न, म व्यक्तिमा जान चाहन्नँ । उमेर नै सबथोक पनि होइन । ७० वर्षे उमेर हद नवौं महाधिवेशनले पास गरेको चिज हो, त्यसलाई अर्को महाधिवेशनले अस्वीकार पनि गर्न सक्छ । पार्टीले विभिन्न राजनीतिक दलहरुबाट एमाले आउने ढोका खोलेको हुनुपर्छ ।’
केन्द्रीय कमिटीको पाँचौं बैठकले युवा पुस्तालाई पार्टीमा अघि बढाउने नीति पारित गरिसकेकाले नहडबडाउन पनि उनले आग्रह गरे । उनले भने, ‘उमेर हद हटाएपछि पार्टीमा बूढाहरुले ठाउँ दिँदैनन् भन्ने त आउन सक्छ । तर भविष्य युवाहरुकै काँधमा छ । युवाहरुले अब पालो आएन भनेर बस्ने होइन, बुढापाकाको पनि रोजाइमा पर्ने बन्नुपर्छ ।’
केपी शर्मा ओली फेरि पनि एमालेको अध्यक्ष बन्न लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बडालले भने, ‘हाम्रो पार्टीमा दुई कार्यकाल अध्यक्ष बन्ने भन्ने छ । केपी शर्मा ओली फेरि अध्यक्ष बन्न सक्ने, नसक्ने म भन्न सक्दिनँ । तर असम्भव भन्ने पनि छैन । मलेसियामा महाथिर मोहम्मद ९२ वर्षमा प्रधानमन्त्री भएकै हुन् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल नभएको आरोप पनि बडालले लगाए । उनले भने, ‘प्रचण्डजीको भारत भ्रमणले राष्ट्रको शिर उच्च बनाउन सकेन । भारतले नेपालका भूभाग अखण्ड भारतको नक्सामा पारेको विषयमा बोल्न सक्नुभएन । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि साटफेर हुन सक्छ भनेर कूटनीतिक हिसाबले हल्काफुल्का कुरा गर्नुभयो । उहाँ माओवादीको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री हो नि ।’
कोसी प्रदेश नामकरणको निर्णयमा एक महिना पनि नटिकेको भन्दै बडालले नेपाली कांग्रेसको पनि आलोचना गरे । कोसीको सरकार अल्पमतमा परे पनि त्यसले एमालेलाई कुनै फरक नपर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्