Logo

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ



ढोरपाटन, २४ जेठ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ ।

पानी प¥यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरु त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विकले भने, “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।”

बाढीबाट विककी २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाएका थिए । भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बनेका छन् । उनी अहिले ढोरपाटन–९ सुप्राङमा बसेका छन् ।

“पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ”, उनले भने । बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विकले बताए । बाढीले सबै बगाउँदा उहाँसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उनको भनाइ छ ।

विकले भने, “जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।”

सोही बाढीमा ढोरपाटन–९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाए । बाढीले उनको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो । घरबारविहीन भएपछि उनी लामो समय माइतीको आश्रयमा बसे ।

“अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु”, उनले भने। बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा गएका थिए । “दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यहीँ गोठमा बस्यौँ”, विकले विगत सुनाए,“त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ ।”

बाढीले ढोरपाटन–६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पु¥याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्