Logo

प्रचण्डलाई एमाले नेता थापाको प्रश्न, ‘१७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्ने ?’ (भिडियोसहित)



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्न नसुहाउँने टिप्पणी गरेका छन् ।  हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको कुरा गर्न नसुहाउँने बताएका हुन् ।

‘प्रचण्डले १७ हजार मान्छे मारेर, रगतको आहालका टेकेर आएर लोकतन्त्रका कुरा गर्ने ? सर्वोच्च अदालतमा गएर सेटिङ गरेर अदालतबाट गोरु व्याएको शैलीमा प्रधानमन्त्री नियुक्त गराएर लोकतन्त्र र संविधान रक्षाको कुरा गर्ने अनि विधेयक प्रमाणीकरणका निम्ति संविधानले निर्धारण गरेको बाटा भाँचुभुँच पार्ने व्यत्तिले संविधानको रक्षा गरेँ भनेर फूर्ति गर्ने ?’– उनले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको कदममाथि सर्वोच्च अदालतले चड्कन हानिसकेको उनको दाबी छ । प्रधानमन्त्री र राष्ट्रपतिले गरेका काम गलत भएकाले नै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको उनले बताए ।

‘यो जति झुठ र बदमासी केही छैन । अदालतले एक चड्कन हानिसकेको छ । उहाँले गरेको काम सही हुन्थ्यो भने अल्पकालीन अन्तरिम आदेश पनि जारी हुने थिएन नि,’– थापाले भने ।
प्रधानमन्त्री प्रचण्डले विगतदेखि नै संविधान मिचेर संविधान रक्षाकै पक्षमा दुहाई दिइरहेको उनको आरोप छ । अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान विपरीतको काम गरेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि हमला गरेको उनले बताए । राष्ट्रपति र प्रधानमन्त्रीको यो शैलीलाई नेता थापाले गुरिल्ला शैलीको संज्ञा दिएका छन् ।

‘प्रचण्डले संविधान मिच्ने र संविधान रक्षाको दुहाई दिने गर्दै आएका छन् । आफूले संविधान मिच्ने विद्यादेवी भण्डारीमाथि हमला गर्ने, प्रचण्डका पूर्वतिर हल्ला गर्ने, पश्चिमतिर हमला गर्ने । यो गुरिल्ला ट्याक्टिस बुभिराखेका छौं,’– उनले भने । File Photo/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्