Logo

थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलन



भरतपुर, २४ जेठ । थारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन भएको हो । थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन सभाले सुरु गरेको यस अभियानमा हालसम्म १०५ सहभागी छन् ।

मङ्गलबार भरतपुरमा गरेको छलफल तथा सम्मान कार्यक्रममा कोषका संयोजक जीतबहादुर महतोले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट पाँच लाख २८ हजार बढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु ६ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको जानकारी दिए । उनले अक्षयकोषमा अझै धेरैको सहभागिता आवश्यक रहेको जनाउँदै सहयोगका लागि आह्वानसमेत गरे ।

थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले अक्षयकोषबाट छिट्टै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताए। पछिल्लो समय थारु समुदायका युवा उच्च शिक्षा हासिल गर्नतर्फ अग्रसर नरहेको देखिएको जनाउँदै शिक्षामा अगाडि बढाउन सहयोग गरिने उनले बताए । कार्यक्रममा शिक्षक कारी महतोले जिल्लाको शिक्षा क्षेत्रमा थारु समुदायले गरेको योगदानसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो ।

उनका अनुसार शिक्षण संस्था स्थापना र सङ्चालनका लागि चितवनका थारु समुदायले ३९ बिघा भन्दा बढी जमिनसमेत सहयोग गरेका छन् ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, डा सञ्जय चौधरी, इन्टरनेशनल सेकेण्डरी स्कुल खैरहनीका प्राचार्य धनवीर चौधरी, शिक्षक समिता चौधरीलगायतले थारु समुदायको शिक्षा र अक्षय कोषको बारेमा आफ्नो धारणा राखेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्