Logo

१५औं महाधिवेशनमा शेखरलाई नेतृत्वमा स्थापित गराउने देउवाको तयारी !



काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा आफू नेतृत्वमा नदोहोरिने स्पष्ट पारिसकेका छन् । तर, उनले १५औं महाधिवेशनमार्फत नेतृत्वमा कसलाई स्थापित गर्ने भन्नेबारे अहिलेदेखि नै गृहकार्य थालेका छन् । लामो संघर्ष र आन्तरिक प्रतिष्पर्धाबाट देउवाले कोइराला परिवारलाई विस्थापित गरेर लगातार दुई कार्यकाल पार्टी सभापतिमा बाजी मारे ।

देउवा नेतृत्वमा स्थापित भएपछि उनको समूह कहिल्यैपनि अल्पमतमा परेको छैन् । यसपटक संसदीय दलको नेताको लागि निर्वाचन हुँदा गगन थापालाई फराकिलो अन्तरले पराजित गरे । देउवाले ६४ मत पाउँदा उनीसँग प्रतिष्पर्धामा उत्रिएका महामन्त्री गगन थापाले भने २५ मत मात्रै पाएका थिए । पछिल्लो समय सभापति देउवाविरुद्ध महामन्त्री गगनले सार्वजनिक रुपमै आलोचना छेड्न थालेका छन् ।

तर, सभापति देउवाले भने पार्टीभित्रको असन्तुष्टि बैठकमा राख्नुपर्नेमा सार्वजनिक रुपमा बोलेर थापाले गलत गरेको र यसले पार्टीलाई नै हानी हुने टिप्पणी गरेका छन् । उनले आफूले पार्टीलाई सबैभन्दा ठूलो र भातृ संगठन नेविसंघलाई पनि देशव्यापी रुपमा ठूलो बनाएको भन्दै अब पार्टीलाई सशक्त बनाउने जिम्मा अरु नेताहरुको भएको भन्दै १५औं महाधिवेशनमा नेतृत्वमा नदोहोरिने स्पष्ट पारेका छन् ।

देउवानिकट उच्च स्रोतकाअनुसार पछिल्लो समय उनले आफूसँग १४औं महाधिवेशनमा नेतृत्वमा प्रतिष्पर्धा गरेका नेता शेखर कोइरालासँग दोस्ती बढाएका छन् । उनीहरुबीच पार्टीलाई सबल बनाउने विषयमा निरन्तर छलफल भैरहेको स्रोतको दाबी छ ।

१५औं महाधिवेशनमा शेखर कोइरालाले देउवा समूहबाटै उम्मेदवारी दिए भने आश्चर्य नमाने हुने देउवानिकट स्रोतको दाबी छ । थापाले पनि संसदीय दलको नेताको प्रतिष्पर्धा गर्दा नै दलको नेतामा आफूलाई सघाए आगामी महाधिवेशनमा नेतृत्वमा शेखरलाई सघाउने वचन दिएको चर्चा थियो । तर, यसबारे भने थापाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । देउवा समूहमा पनि नेतृत्वमा स्थापित हुन चाहने नेताहरुको सूचि लामो नै छ । उपसभापति पूर्णबहादुर खड्काले नेतृत्वमा सो समूहबाट दाबी गरिरहेका छन् ।

तर, पछिल्लो समय देउवा र उनकी पत्नी डा. आरजु राणाले पनि सभापतिमा खड्कालाई नसघाउनेगरि गृहकार्य थालेका छन् । देउवा समूहबाट नेतृत्वको लागि पूर्व उपसभापति विमलेन्द्र निधिले पनि दाबी गरिरहेका छन् । तर, देउवाले पछिल्लो समय निधिसँग पनि त्यति राम्रो सम्बन्ध राखेका छैनन् । देउवाले १५औं महाधिवेशनबाट शेखर कोइरालालाई सभापति बनाएर विश्राम लिनेगरि तयारी थालेका छन् ।

शेखरले पनि सभापति देउवालाई असर गर्नेगरि कुनै आलोचना गरेका छैनन् । देउवा र शेखर मिलाउनको लागि डा. मिनेन्द रिजालले भूमिका खेलेको चर्चा छ । यता, गगनले भने पार्टी नेतृत्वको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन । उनले कांग्रेस सुधार्नको लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भन्दै विद्रोहको संकेत गरेका छन् । देउवाले आफूविरुद्ध लागेकै कारण थापालाई पार्टी नेतृत्वमा स्थापित हुन नदिने बरु कांग्रेसबाटै विस्थापित गराउने रणनीति लिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्