Logo

नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधान र संसद्को अपमान गरेको प्रधानमन्त्री प्रचण्डको आरोप



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसद्को अपमान गरको आरोप लगाएका छन् । आज (बु्धबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट दुई–दुई पटक पारित भएको र सभामुखले प्रमाणीकरण गरेको विधेक रोक्ने अधिकार राष्ट्रपतिलाई नरहेको बताएका हुन् ।

‘दुवै सदनबाट पारित भएर प्रमाणीकरणका निम्ति राष्ट्रपतिकोमा गएको विधेयकलाई राष्ट्रपतिले एक पटकका निम्ति नोटसहित, आफ्नो सुझावसहित फिर्ता पठाउन सक्ने सविधानको व्यवस्था छ । त्यो पनि पूरा भयो हाम्रो । दोस्रो पटक पठाएपछि, दोस्रो पटक पनि पारित भएर गइसकेपछि फेरि फिर्ता पठाउने वा खारेज गर्ने या होल्ड गर्ने या केही गर्ने अधिकार संविधानले कल्पना पनि गरेको छैन ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले कसैलाई आरोप लगाउन चाहेको पनि होइन, तर यथार्थ स्थिति के हो भने त्यसबाट संविधान त डिरेल भयो नि । संविधान त मिचियो नि ? सदनको त आपमान त्यताबाट पो भयो । संविधानमा स्पष्ट लेखिएको शब्दको मर्म र भावना विपरीत भयो ।’

दुवै सदनबाट पारित भएको विधेक रोकेर फेरि नयाँ ढंगबाट अगाडि बढौं भन्ने पनि आफूले सोचेको उनले बताए । तर, वर्तमान राष्ट्रपतिले पनि प्रमाणीकरण नगरिदिने र राष्ट्रपतिको स्वविवेकीय अधिकारले प्रश्रय पाउने डर डर बढेको उनले बताए । यस्तै परम्पराको विकास हुँदै गएको अवस्थामा संवैधानिक परिषदुले सिफारिस गरेको पनि राष्ट्रपतिले नियुक्ति÷प्रमाणीकरण नगर्ने डर बढेकाले त्यही विधेयकलाई अगाडि बढाएको उनको दाबी छ । साथै, दुवै सदनबाट पारित भएको विधेयक मृत हुन्छ भनेर नेपालको संविधान र कुनै पनि व्यवस्थामा उल्लेख नभएको उनको दाबी छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्