Logo

नक्कली शरणार्थी बनाउने र बन्न चाहने दुवैलाई कारबाही गर्न विश्वभक्त धार्मिक अभियन्ताहरुको माग



काठमाडौं, २४ जेठ । विश्वभक्त धार्मिक अभियन्ताहरुले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुवैलाई कारबाही हुनुपर्ने माग गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा पूर्वउपप्रधानमन्त्रीदेखि सरकारी उच्च अधिकारीहरुसम्म रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै होमबहादुर कार्की (विश्वभक्त बाबा) ले भुटानी शरणार्थी बनेर जान तयार भएकाहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । अहिले नक्कली शरणार्थी बनाउने गिरोहलाईमात्रै पक्राउ गरेर कानुनी दायरामा ल्याउँदा एकतर्फी न्यायको प्रत्याभूति भएको उनको भनाई छ ।

‘जो आफैं स्वयं भुटानी शरणार्थी बनेर नेपाली जान्छन् भने तिनको तस्विर र तिनीहरुलाई सार्वजनिक किन गरिँदैन । एकतर्फमात्रै न्याय हुँदैन । भ्रष्टाचार गर्ने र घुस दिने व्यक्तिलाई पनि कानुनी कारबाहीमा ल्याउनु पर्छ,’– उनले भने ।

त्यसैगरी, राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएर मोदीको शरणमा लम्पसार परेको टिप्पणी गरे । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सात वटा विषयमा भन्दा अन्य विषयमा पनि सहमति र समझदारी बनेको उनको दाबी छ । गोप्य राखिएको समझदारी र सहमति तत्काल सार्वजनिक गर्नसमेत उनले आग्रह गरे ।

‘प्रधानमन्त्री भारतमा गएर लम्पसार पर्नु भएको छ । सात वटा सहमति र समझदारी भएको छ त्यो त देखिएको मात्रै हुन् त्यो भन्दा बाहेक के कस्ता गोप्य सहमति भएका छन् त्यो पनि सार्वजनिक हुनुपर्यो । नेपालको राष्ट्रियताका लागि खतरा हुनसक्छ,’– उनले भने ।

भारत भ्रमणका क्रममा आफूले सबैभन्दा बढी सम्मान पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले गाईजात्रे तारिफ गरेको उनको टिप्पणी छ । प्रचण्डले भारतको तारिफ गर्नुका पछाडि धेरै रहस्य लुकेको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

अहिलेको संसद संसद्जस्तो पनि नभएको उनले बताए । चाटुकार र केही व्यापारिक घरानाका व्यक्तिलाई पोस्ने गरी बजेट आएको उनको टिप्पणी छ । संसद्को सबैभन्दा धेरै समर्थन भएको प्रधानमन्त्रीको भारत भ्रमण उद्देश्यविहीन भएको उनको आरोप छ । भ्रमणमा प्रधानमन्त्री प्रचण्डले आतंकवादीइ चरित्र प्रस्तुत गरेको रायमाझीले बताए ।

साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी बनाउने र बन्न चाहने दुवै पक्षलाई कारबाही हुनुपर्ने उनको माग छ । उनीहरुको नागरिकता खोरेजीको समेत रायमाझीले माग गरेका छन् ।
‘पैसाको लागि नेपालीले नेपालीलाई नै भुटानी शरणार्थी बनाएको छ । टिनमुनि बसेका र विपत्तिबाट आएकाहरुको नाममा नेपालीले आफ्नो पहिचान मेटेर जान तयार हुन्छन् भने तिनीहरुमाथि पनि कारबाही हुन पर्छ कि पर्दैन ?’ उनले प्श्न गरे ।

प्रधानमन्त्री प्रचण्डले शरणार्थी शिविरमासमेत राजनीति सूरु गरेको उनले आरोप लगाए । चार हजारभन्दा धेरै नक्कली शरणार्थी तेस्रो मुलुकमा पुगेको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्