Logo

एमालेको सदस्यता लिन सवा लाखले दिए निवेदन



काठमाडौं, जेठ २५ । राजनीतिक पार्टीप्रति आम जनताको वितृष्णा बढी रहेको बेला नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा एक लाख १९ हजार ९६ जनाले पार्टी सदस्यताका लागि आवेदन परेको एमालेले जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नआएपछि सो पार्टीले संगठन सुदृढीकरण अभियानअन्र्तगत गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । सो अभियानका क्रममा उक्त संख्यामा नयाँ सदस्यताको आवेदन परेको पनि एमालेले जनाएको छ ।

उक्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

एमालेले हालैको केन्द्रीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको एमालेले जारी गरेको अन्तर पार्टी निर्देशमा उल्लेख गरिएको छ ।

मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक बसेको थियो । अभियानका क्रममा देखिएका वैचारिक र सांगठनिक क्षेत्रका समस्या र चुनौतीलाई सम्बोधन गर्न सो पार्टीले विशेष योजनासहित निर्देशन जारी गरेको छ । साथै मनोनयनबाट थप भएकासहित तीन सय ४९ केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन समेत गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्