Logo

पर्यटनमन्त्री किराती हटाउने तयारीमा प्रधानमन्त्री दाहाल, मन्त्री मोदीको पनि आजै पत्रकार सम्मेलन



काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरि दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन । जनमत सरकारबाट बाहिरिएपनि अहिलेसम्म समर्थन कायमै राखेर बस्नुको कारण सरकारमा सहभागी हुन उपयुक्त समयको पखाईमा हो भन्ने स्वयम सो दलका नेताहरुले सार्वजनिक रुपमा बताउने गरेका छन् ।

जनमतले प्रधानमन्त्री दाहालले पुष ११ गते प्रधानमन्त्रीको रुपमा सपथ खाँदा अब्दुल खांनलाई मन्त्रीमा पठाएको थियो । तर, सहमतिबमोजिम कृषि वा उद्योगमध्ये एक मन्त्रालय नपाएको कारण लामो समय खांन विनाविभागीय मन्त्रीको रुपमा रहे । पछि उनलाई खानेपानी मन्त्रालयको जिम्मा दिईयो । यो बीचमा प्रधानमन्त्री दाहालले एमाले, रास्वपा र राप्रपाको कित्ता परिवर्तन गरेर कांग्रैसको कित्ता रोजेपछि जनमत फेरि उपेक्षामा परेको थियो । जनमतका अध्यक्ष डा. सिके राउतले बजेट आउनेबित्तिकै आफ्नो दल सरकारमा सहभागी हुनसक्ने बताएका थिए ।

प्रधानमन्त्री दाहाल भर्खरै भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दाहालले जनमतलाई सरकारमा सहभागी गराउनेगरि गृहकार्य थालेका छन् । जनमतबाट यसपटक अध्यक्ष राउत नै सरकारमा जानसक्ने पनि चर्चा छ । तर, राउतले भने यसबारेमा कुनै निर्णय नगरेको पार्टीनिकट उच्च स्रोतको दाबी छ । जनमत सरकारमा सहभागी हुँदा माओवादीबाट एक मन्त्रीको जिम्मेवारी खोसिने निश्चित् भएको छ । प्रधानमन्त्री दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको जिम्मेवारी खोस्ने तयारी गरेको उच्च स्रोतको दाबी छ ।

पछिल्लो समय प्रधानमन्त्री दाहाल मन्त्री किरातीको कार्यशैलीलाई लिएर खुशी छैनन् । तर, किरातीप्रति भने जनताको व्यापक समर्थन छ । उनको काम गर्ने शैलीबाट जनता एकदमै खुशी छन् । सामाजिक सञ्जालमार्फत पनि किरातीले वाहवाही कमाएका छन् । प्रधानमन्त्री दाहालले किरातीलाई हटाए आलोचना खेप्नुपर्ने निश्चित् छ । उनले किरातीलाई नै हटाउँछन् वा अरु कोही मन्त्री भन्ने आजै टुँगो लाग्ने बताईएको छ ।

उता, आजै माओवादीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन् । आज दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमा उनले आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । कतिपयले भने उनको पनि जिम्मेवार हेरफेर हुने भएकोले आजै पत्रकार सम्मेलन गर्न खोजेको भनेर पनि चर्चा गर्दैछन् । File Photo/ReportersNepal 

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री दाहाल, जनमत फेरि सरकारमा सहभागी हुँदै



प्रतिक्रिया दिनुहोस्