Logo

लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री महत



काठमाडौं, २५ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइँमा पुर्याउने छ,’– मन्त्री महतले भने ।

उनले धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बजेट वक्तव्यका क्रममा शेयर बजारका बारेमा विभिन्न हल्ला फैलाइएको भन्दै उनले उक्त हल्लामा कुनै सत्यता नरहेको बताए ।

‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो –उनले भने ।

सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्न नहुने उनको भनाई छ । शेयर बजारमा लगानीकर्ताको सुरक्षाको जिम्मा धितोपत्र बोर्डको भएकाले बोर्ड तप जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको उनको भनाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्