Logo

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छः सांसद चौधरी



काठमाडौँ, २५ जेठ । सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले यो बजेटका आफ्नै सीमा रहेको उल्लेख गर्दै यो बजेट नेपाली कांग्रेसको एक्लो सोँचबाट मात्रै निर्देशित नभएको बताए ।

बजेटले कांग्रेसले अँगालेको ‘लिवरल इकोनोमिक पोलिसी’ र निजी क्षेत्रलाई थप अगाडि बढाउने प्रयास गरेको बताउँदै उनले साधारण खर्च घटाउन अर्थमन्त्रीले गरेको प्रयास सकारात्मक रहेको बताए ।

बजेट आकारका हिसाबले ठूलो नभए पनि चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेर्दा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोँच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटी’ अगाडि सारेकाले यसलाई सकारात्मक सङ्केतका रुपमा लिनुपर्ने जिकिर गरे ।

सांसद चौधरीले भने, “उत्पादन साथमा, अनुदान हातमा’, ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै’, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ सिँचाइमा लगानी, खेतबारीमा पानी’ जस्ता नाराहरूले बजेटको दृष्टिकोणलाई प्रष्टसँग औँल्याएको छ ।”

रासायनिक मल वितरणका लागि पेट्रोलियम पदार्थमा जस्तै ‘जिटुजी’का आधारमा नेपालको कूल माग धान्ने गरी स्थायी र भरपर्दोरुपमा आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भनी प्रश्न गर्दै उनले यो समस्याको स्थायी समाधानका लागि हामीले भारत वा बङ्गलादेशबाट ग्यास पाइप लाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सकिने बताए ।

“हाम्रो राजनीति, अर्थनीति र कूटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्छ । आर्थिक विकास र नागरिकको जीवनस्तर परिवर्तनसँग जोडिन नसकेको राजनीति जनताबाट टाढा बन्दै जानेछ । त्यसैले राजनीतिको केन्द्रभागमा आर्थिक विकास र आम नागरिकको जीवनसँग जोडिएका एजेण्डाहरू रहनु पर्दछ”, उनले भने ।

उनले बजेटमा काठमाडौँको बूढानिलकण्ठ स्कूल र पोखराको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिवास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक-एक नमूना आवासीय सामुदायिक स्कूल स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका काम अगाडि बढाइने भनिएको विषयलाई स्वागत गरे । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्