Logo

गाँजा आयात गर्ने अवस्था आउनु अघिनै नेपालमा गाँजा खेतिलाई वैधानिकता दिनुपर्छ : कांग्रेस सांसद् घिमिरे



काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले गाँजा खेतिलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै घिमिरेले गाँजाको खेतिले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने भन्दै अन्य देशबाट गाँजा आयात गर्ने अवस्था आउनु अघिनै नेपालमा यसको खेतिलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतिको सम्भाव्यत्रा अध्ययन किन र कसका लागि हो भन्दै प्रश्न गरेका थिए । घिमिरेले आज ओलीको प्रश्नको जवाफसमेत दिएका छन् ।

ओलीलाई जवाफ दिँदै घिमिरेले भने ‘माननीय प्रतिपाक्षी दलका नेतालाई मेरो आग्रह छ गाँजा खेतिका सम्बन्धमा तपाँईका पार्टीका पूर्वसांसद् शेरबहादुर तामाङले संसद्मा एकलरुपमा विधेयकनै दर्ता गर्नुभयो थियो भूल्नु भयो र’ ? ।

अमेरिका लगायतका विकसित देशहरुमा गाँजालाई वैधानिकता लिएको उल्लेख गर्दै घिमिरेले नेपालमा पनि गाँजालाई वैधानिकता दिनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

सरकारले गत जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको थियो । उक्त बुँदालाई लिएर अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot