Logo

पार्टी एकता र चुनावी तालमेललाई लिएर पछुताउँदै बाबुराम



काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अहिले पहिचान र अस्तित्वको संकटमा रहेको बताएका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा आफूहरु वैकल्पिक शक्ति हो कि पुरानै राजनीतिक शक्ति हो भन्नेमै विरोधाभाष रहेको उल्लेख गरिएको छ ।

‘आज हाम्रो पार्टी आफ्नो पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको छ । हामी कहाँ जान हिँडेका थियौं, कहाँ पुग्यौं ? हामी वैकल्पिक राजनीतिक शक्ति हौं कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौं ?’– राजनीतिक प्रतिवेदनमा भनिएको छ । आफूहरुले पटक–पटक पार्टीको नाम र चुनाव चिन्ह फेरिरहनु, जनताप्रति जिम्मेवार हुन नसक्नु लगायतका विषयमा आलोचनात्मक बन्नुपर्ने र उत्तर खोज्ने बेला आएको उनको प्रतिवेदनमा उल्लेख छ ।

‘किन हामीले पटक–पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौं ? हामी झुक्किएका हौं कि, ठगिएका हौं कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौं ? हाम्रो बाटो मात्र घुमेको हो कि गन्तव्य नै फेरिएको हो ? यसको निम्ति को कति जिम्मेवार छ ? अब के गर्ने ? हामीसँग के–के विकल्प छन् ? यी तमाम प्रश्नको तथ्यपरक उत्तर हामीले खोज्नै पर्छ,’– उनले भनेका छन् ।

हामीले संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत ’समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान सुरु गर्नु सही भएको उनको दाबी छ ।

देशमा पुराना राजनीतिक शक्तिहरूको विरोधमा व्यापक जनमत बन्दै जानु र नयाँ–नयाँ शक्तिहरूको उदय हुँदै जानुले त्यसबेला वैकल्पिक शक्ति निर्माणको अभियानमा लाग्नु ठीक थियो भन्ने पुष्टि गराएको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न पार्टी र समूहहरूसँग एकता गर्ने क्रममा पार्टीको नाम नयाँ शक्ति पार्टी, समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी र फरक–फरक चुनाव चिह्न (आँखा, मसाल, छाता र हँसिया हथौडा) भए पनि पार्टीको निर्देशक विचार, कार्यक्रम र लक्ष्य नत्यागेको उनको दाबी छ ।

उनले पार्टीको छवि धमिलिनुमा हतारमा पार्टी घोषणा गर्नु, अरुसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु, जनआन्दोलन र जनपरिचालनप्रति उदाशीनता आउनु, मूल नेतृत्वको उदारता र आदर्शवाद र वस्तुगत प्रतिकूलतालाई प्रमुख कमजोरीका रुपमा लिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्