Logo

आफ्ना नेता कार्यकर्तामाथिको आक्रमण नरोकिए सदन चल्न नदिने एमालेको घोषणा



काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले यसरीनै निरन्तर आफ्ना पार्टीका नेतालाई आक्रमण हुने श्रृंखला नरोकिए भोलिबाट सदन चल्न नदिने घोषणा गरेका छन् ।

उनले भने ‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ । हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो । हामीले संसदमा जानकारी गराएका थियौं । आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ ।हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौं । आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन चल्न दिँदैनौं ।’

प्रदेशको नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादीहरुले पछिल्लो समय नेकपा एमालेका नेता तथा कार्यकतामाथि निरन्तर आक्रमणको प्रयास गरिरहेका छन् ।

आजमात्रै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार तथा प्रदेश संसदीय दलका उपनेता राम रानामगरमाथि आक्रमण तथा अभद्र व्यवहारको प्रयास भएको थियो ।



प्रतिक्रिया दिनुहोस्