Logo

क्यान्सर काउन्सिल नेपालद्धारा कञ्चनजंगा ईंग्लिस बोर्डिङ्ग स्कुलमा सूर्तिजन्य पदार्थको रोकथामबारे जनचेतनामूलक कार्यक्रम आयोजना



काठमाडौं, २५ जेठ । क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थको नकारात्मक असर र वातावरणीय प्रभावबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा काउन्सिलले आज कञ्चनपुरको कञ्चनजंगा ईंग्लिस बोर्डिङ्ग स्कुलमा धुम्रपानको नकारात्मक असर, क्यान्सर रोग र नसर्ने रोगको रोकथामका उपायबारे एक दिवसीय जनचेतनामूलक अन्तरक्रिया आयोजना गरिएको हो ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित अन्तरक्रियामा दुई सय जनाको सहभागिता रहेको थियो । कडरियाले युवा पुस्तालाई धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनको दुव्र्यसनीबाट बचाउनुपर्नेमा जोड दिए । उनकाअनुसार युवा पुस्ता सुरुमा धुम्रपानको सेवनको लतमा फस्ने र विस्तारै लागुऔषध र मदिराको कुलतमा पनि फस्ने गरेको छ । उनले भने,‘अहिले युवा पुस्तालाई कुलतबाट बचाउनुपर्छ । हामीले विद्यालयस्तरबाटै यो तहको जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्छ ।’

स्रोत व्यक्तिको रुपमा डा. शिलु उप्रेतीले धुम्रपान नकारात्मक असर र रोकथामका उपायहरुबारे प्रकाश पारेकी थिईन् । उनकाअनुसार ३० देखि ५० प्रतिशत रोगहरु बृहत्त जनचेतनामूलक अन्तरक्रियामार्फत पनि रोक्न सकिने छ । उनले ग्रामिण तहमा धेरै महिलाहरु स्तन र पाठेघरको क्यान्सरबाट ग्रसित रहेको सुनाईन् । त्यसको प्रमुख जड भनेको अहिलेपनि ग्रामिण महिलाहरु आफ्नो गोप्य अंगसम्बन्धी चेकजाँच गर्न लजाउनु नै भएको उनको भनाई थियो । उनले महिला वा पुरुष जसले पनि आफ्नो रोगबारे आँफै सचेतना अपाउनुपर्ने भन्दै रोगबारे खुलेर कुरा गर्नुपर्नेमा जोड दिईन्।

विद्यालयका प्राधानाध्यापक पदमबहादुर ऐरले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमप्रति स्वास्थ्यसम्बन्धी अतिआवश्यक जनचेतना र शिक्षामूलक कार्यक्रम आफ्नो विद्यालयमा आयोजना गरिदिएको भन्दै आभार व्यक्त गरे । उनले सिकाईलाई व्यवहारमा उतार्न सक्दा त्यो अर्थपूर्ण हुने भन्दै आजको कार्यक्रम आफ्नो विद्यालयका विद्यार्थीहरुको लागि महत्वपूर्ण रहेको सुनाए ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा शिक्षिक र अभिभावक सबैले विद्यालय र विद्यालय परिसरलाई सुर्तिजन्य पदार्थमुक्त बनाउने अभियान थाल्ने र समाजप्रति ठूलो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको काउन्सिलका अध्यक्ष कडरियाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्