Logo

दादुरा निवारण गर्न चुनौती



काठमाडौं, जेठ २६ । सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ ।

गत पुसअघिसम्म नेपालगन्जमा मात्र फैलिएको दादुरा पछिल्लो समय काठमाडौँसहित १५ जिल्लामा फैलिइसकेको छ । पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयका पाँच जना विद्यार्थीको नमुना सङ्कलन गर्दा चार जना विद्यार्थीमा दादुरा सङ्क्रमण भएको पाइएको छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा गोकर्णेश्वर एक गुम्बामा अध्ययनरत विद्यालयका चार जनामा दादुरा पुष्टि भएको जानकारी दिए। उक्त विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमुना परीक्षण गरिएको उनको भनाइ छ । गत पुसमा नेपालगन्जमा दादुरा फैलिएपछि सरकारले दादुराविरुद्ध खोप अभियान सञ्चालन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले काठमाडौँमा समेत दादुरा देखिएपछि दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले हाललाई नौ जिल्लाका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरेको बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्