Logo

शरणार्थी प्रकरण : मुद्दा उठानमै प्रश्न



काठमाडौं, जेठ २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका कानुन व्यवसायीले मुद्दाको उठानमा नै प्रश्न गरेका छन्। कानुनले निषेध गरेको विषयमा बिगो कायम गरी मुद्दा चलाउने अधिकार क्षेत्र नभएको भन्दै प्रतिवादीका कानुन व्यवसायीले प्रश्न उठाएका हुन्।

मुद्दामा बिहीबार प्रतिवादीहरू सानु भण्डारी, टङ्क गुरुङ तथा डा. इन्द्रजित राईका कानुन व्यवसायीले बहस गरेका छन् ।नेपालीलाई भुटानी शरणार्थी बनाउने कुनै कानुनी व्यवस्था नभएकाले कानुनविपरीतका क्रियाकलाप र ठगीमा जाहेरी दर्ता नै गर्न नमिल्ने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको तर्क छ।

भण्डारी र गुरुङका तर्फबाट थुनछेक बहसमा सहभागी हुनुभएका श्रेष्ठले कानुनले निषेध गरेका विषयमा बिगो भराउन जाहेरी नै दिन नमिल्ने जिकिर गरेका हुन्। थुनछेकमा प्रतिव्यक्ति प्रमाण आवश्यक हुने र त्यस्ता प्रमाण स्वतन्त्र रूपमा पुष्टि हुनुपर्ने नजिरको पालना गर्न पनि उनीहरुले इजलासको ध्यानाकर्षण गराए

यस्तै प्रतिवादी सागर राईका तर्फबाट अधिवक्ता प्रकाश पौडेलले सङ्गठित अपराधमा मुद्दा चलाउने कुनै आधारसमेत नरहेको जिकिर गरे। राईकै तर्फबाट वरिष्ठ अधिवक्ता विनोद कार्कीले पनि सङ्गठित अपराध पुष्टि गर्ने कुनै आधार नरहेको तर्क गरे। कार्कीले बाह्य दबाबमा अभियोजन भएको, एकभन्दा बढी कसुर जबर्जस्ती कायम गरिएको पनि आरोप लगाए ।

यस्तै प्रतिवादी सन्देश शर्माका तर्फबाट यज्ञ खतिवडाले चेक काटिएको, कुनै कारोबार नभएको र कारोबार भएको पुष्टि हुने कुनै आधार नरहेको अवस्थामा आफ्नो पक्षलाई प्रतिवादी कायम गरिएको बताए। कारोबार पुष्टि गर्ने कुनै आधार र कारण नभएकै अवस्थामा प्रतिवादी बनाइनु सर्वोच्चको नजिरविपरीत भएको समेत उनको भनाइ छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकारसमेत रहेका राईका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण ढकाल र प्रकाश केसीले बहस गरे। ढकालले राईविरुद्ध किटानी जाहेरी नभएको पनि उनको भनाइ छ।

यस्तै वरिष्ठ अधिवक्ता केसीले सरकारी पक्षले अभियोगमै दोषी ठहरको प्रयत्न गरेको जिकिर गरे। केसीले आफ्नो पक्षलाई लागेको अभियोग सहअभियुक्तले पोलेका आधारमा मात्र लगाएको पनि जिकिर गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्