Logo

७० वर्षे उमेरहदको खारेजी होइन, स्थगन वा निलम्बन मात्र हो : एमाले उपाध्यक्ष



काठमाडौं, २६ जेठ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ७० वर्षे उमेरहद हटाउने कुराले पार्टीको युवा पुस्तालाई सशंकित बनाएको बताएका छन् ।
‘७० वर्षे उमेरहद समेटिएको प्रस्तावित विधान हामीले आठौं महाधिवेशनमै राखेका हौं । नवौं महाधिवेशनमा यसबारे निकै बहस र छलफल भयो । दसौंमा सुविचारित रुपमा पारित गरेका हौं । अहिले पनि यसलाई खारेज गरेको होइन, स्थगन वा निलम्बन गरेको मात्र हो । तर यसले युवा पुस्तालाई सशंकित बनाएको छ । एघारौं महाधिवेशनमा कायम राख्ने कि हटाउने भन्नेबारे खुलस्त रुपमा छलफल हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे आलोचनाका लागि आलोचना मात्र नगरेको दाबी पनि गरे । उनले भने, ‘प्रतिपक्षले आलोचनाका लागि आलोचना मात्र गरेको होइन । सरकारका कमीकमजोरी देखाउने, गल्ती गर्न रोक्ने, जनतालाई सजग बनाउने प्रतिपक्षको धर्म नै हो । भारतले संसद् भवनमा अखण्ड भारतको म्याप राखेको छ । त्यो सांस्कृतिक होस् कि राजनीतिक होस्, प्रधानमन्त्रीले त्यसको विरोध गर्नैपर्थ्र्यो, ईपीजी प्रतिवेदनबारे बोल्नुपर्थ्र्यो भन्ने कुरा स्वाभाविक हो ।’
ज्ञवालीले गोरखा, डडेलधुरा र नुवाकोटमा किन बजेट धेरै हालेको भनेर प्रश्न गरे । उनले भने, ‘बजेटका सबै कुरा बेठीक भन्ने होइन । जे आउनुपर्ने हो, जे गर्नुपर्ने हो, त्यो भएन भन्ने मा हो । बजेट विद्यमान आर्थिक संकट, बेरोजगारी, महँगीको समाधान गर्ने गरी आएन । राम्रो कुराको त कसले विरोध गरेको छ र ?’
एमालेले नागरिकता विधेयकको विरोध गरेको नभई विधेयक प्रमाणीकरण प्रक्रियाको आलोचना गरेको पनि ज्ञवालीले बताए । उनले भने, ‘संसद् चलिरहेको छ । संसदमा छलफल चलाए के बिग्रन्छ ? राष्ट्रपतिले किन प्रमाणीकरण गर्नु पर् यो ?’ साथै उनले नेकपा एमाले सरकार ढाल्ने खेलमा नलागेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्