Logo

माओवादी नेतालाई धमलाको प्रश्न– मन्त्री मोदी र किराँतीमध्ये को हट्दै छ ?



काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा अहिलेसम्म हुन नसकेका ऐतिहासिक काम भएकाले विपक्षीहरु अत्तालिएको आरोप लगाएका छन् ।
‘प्रधानमन्त्री प्रचण्डको भ्रमण कसरी असफल भयो ? केपी ओलीले भनेका कारणले ? प्रचण्डको भारत भ्रमणमा नराम्रो वा राष्ट्रघात हुने कुरा के भयो ? के के कुरामा छलफल भयो, के के कुरामा भएन ? भारतीय संसद् भवनमा अखण्ड भारतको नक्सा प्रचण्डले लगेर झुन्डाइदिएको हो र ? हामीलाई त एमालेको कुरा सुन्दा पनि लाज लाग्छ । उनीहरुको बोलीमा आग्रह, पूर्वाग्रह मात्र छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको वक्तव्यको राजनीतिक महत्त्व नभएको दाबी पनि गरे । उनले भने, ‘सरकारले भ्रष्टाचारविरुद्ध गरेका काममा जताततै वाहवाही भएको छ । एमालेले के भन्छ ? केपीजी के बोल्छन् ? बजेटमा सामान्य छलफल गर्दा डेढ घन्टा बोल्छन् । समय दिने सभामुख कस्तो ? बोल्ने मान्छे कस्तो ? केपीजीले राजनीतिक हैसियत हेर्नुपर्दैन ? त्यसैले ओलीजीको चरित्र बुझ्नु जरुरी छ । राजनीतिक रुपमा यसको महत्त्व छैन ।’
ओलीको पछि लागेर बोल्दा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले माफी माग्नुपरेको पनि दाहालले बताए । उनले थपे, ‘केपीको लहैलहैमा लाग्ने कसैको पनि भलो छैन । संसदमा गल्ती बोलियो भनेर रविले माफी मागेनन् ? प्रतिपक्षी दलको नेताले चौबाटोमा जस्तो कराउन मिल्छ ?’
नेता दाहालले प्रचण्ड सरकारलाई अहिले कुनै संकट नभएको पनि दाबी गरे । उनले भने, ‘जनमत पार्टीलाई सरकारमा लैजाने बारेमा छलफल चल्दै छ । आज कि अहिले, भरे कि भोलि बिहान, यसै भन्न सकिँदैन । सरकारमा आउँछु भनेका छन्, आउँछन् कि आउँदैनन्, त्यो उसको कुरा हो । तर प्रचण्ड सरकारलाई त्यस्तो कुनै संकट छैन । ‘जनमतलाई सरकारमा ल्याउन तपाईंहरुले अमनलाल मोदी कि सुदन किराँतीलाई हटाउँदै हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘मन्त्रीलाई मैले हटाउने होइन, प्रधानमन्त्रीले हो । फलानो ढिस्कानो कसलाई हटाउने भन्ने कुरा म भन्न सकिँदैन । कांग्रेसको मन्त्री हटाएर पनि त हुन सक्ला । माओवादीको मात्र हट्छ भन्ने होइन । कसको मन्त्री हटाउने ? टेक्निकल कुरामा नजाम् ।’
सत्तापक्ष र प्रतिपक्षको उस्तै हैसियत भएकाले कोसी प्रदेशको सरकार निर्माण जटिल भएको टिप्पणी पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot