Logo

ओलीलाई जनार्दन शर्माको चूनौति : ‘माओवादीविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ’ (भिडिओसहित)



काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफ्नो पार्टीको शक्तिविना एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको बजेटमाथिको छलफलमा भाग लिने क्रममा शर्माले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीले माओवादीको संसदीय सिट संख्याबारे व्यंग्य कसेका थिए । ओलीले माओवादी ५३ सिटबाट ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए ।

यता, ओलीलाई जवाफ दिने क्रममा शर्माले भने नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुने दाबी गरे । मुलुकमा परिवर्तनका एजेण्डा संघीयता, धर्मनिरपेक्षता, समावेशीताजस्ता मुद्दा आफ्नो दलको एजेण्डा भएको उनको दाबी थियो ।

शर्माले भने,‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?, याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’

उनले माओवादी परिवर्तनकारी शक्ति भएकोले यसमा अझैपनि परिवर्तनको रापतापको चुम्बकीय शक्ति यथावत रहेको दाबी गरे । उनले चुम्बकीय शक्तिमा धातुहरुलाई आकर्षण गर्ने गुण भएको उल्लेख गर्दै माओवादीसँग पनि अरु शक्तिहरु टाँसिन आएको बताए ।



प्रतिक्रिया दिनुहोस्