Logo

संक्रमणकालीन न्यायमा कुनै मोलमोलाहिजा गरिनु हुँदैनः पूर्वसभामुख सापकोटा



काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संक्रमणकालीन न्यायलाई समग्रतामा हेरेर त्यसको समाधान खोज्न आवश्यक रहेको बताएका छन् ।
आज (शुक्रबार) नेपाल ल क्याम्पस स्ववियु समितिले आयोजना गरेको ‘ ‘संक्रमणकालीन न्यायको वर्तमान अवस्था र अबको बाटो’ विषय अन्तरिक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वकालका घटनालाई पार्टपार्टमा हेर्ने कोशिस गरियो भने न्याय अन्धाले हात्ति छामेको जस्तोमात्रै हुने बताएका हुन् ।

‘हामीले विषयलाई समग्रतामा हेर्नुपर्छ । पार्टपार्टमा हेर्दाखेरी प्रत्येकले देख्ने सत्य भिन्नभिन्न हुन्छ । समग्रतामा हेर्न सकियो भनेमात्रै निष्कर्षमा पुगिन्छ । नत्र अन्धाले हात्ति छामेको जस्तो मात्रै हुन्छ,’– उनले भने ।

संक्रमणकालीन न्यायको विषय राजनीतिक विषय भएपनि यो कुनै दल विशेषको मुद्दा नभएको उनको दाबी छ । यसलाई कुनै पनि दलले राजनीतिक इन्ट्रेष्टको रुपमा हेर्न नहुने उनले बताए । यस विषयमा दुधको दुध, पानीको पानी गर्नु आवश्यक रहेको उनको भनाई छ । राजनीतिक स्वार्थको आधारमा कुनै मोलमोलाहिजा गरिएको अवस्थामा विषय गिजोलिने उनको भनाई छ ।

‘सत्यको अन्वेशन ठीक ढंगले गर्नुपर्छ । दुधको दुध, पानीको पानी । तथ्यको आधारमा सत्य खोज्नुपर्छ । कुनै इन्ट्रेष्टबाट अभिप्रेरित भएर त्यसो गर्न थालियो भने अब बेठिक हुन्छ । अहिले तर्कलाई अगाडि बढाउने, तथ्य खोज्ने भन्दा पनि राजनीतिक उदेश्यतिर छलफल मोडिएको छ । कुनै दल विशेष, पार्टी विशेषको कुराहरुमा लागेर होइन, निष्कर्षमा पुग्ने एउटामात्रै शुत्र समग्रतामा यसलाई हेर्नु हो,’– सापकोटाले भने ।



प्रतिक्रिया दिनुहोस्