Logo

राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गरेर संविधान सच्याउनुभयो, म धन्यवाद भन्न चाहन्छु : प्रदीप यादव



काठमाडौंं, २६ जेठ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले आमाबुवा दुवै नेपाली नागरिक हुने अनि उनीहरुको छोराछोरी कसरी अनागरिक भए ? भन्दै प्रश्न गरेका छन् । आज (शुक्रबार) काठमाडौंको माइतीघरमा नागरिकताविहीन संघर्ष समितिको धर्नामा ऐक्यबद्धता जनाउँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘आमाबुवा दुवै नेपाली नागरिक, अनि तिनका छोराछोरी कसरी अनागरिक ? यो ठूलो अन्याय भएको छ ।’

नेता यादवले संघीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विद्येयक यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाए । उनले भने,‘दुवै सदनबाट पारित भएर दुई दुई पटक प्रमाणीकरणको लागि नागरिकता विद्येयक पठाईयो, तर उहाँले फिर्ता पठाउनुभयो । संविधानतः एकपटक राष्ट्रपतिले पूनर्विचारको लागि फिर्ता पठाउन मिल्छ । तर, दुई पटक नै बहुमतले पारित गरेर विद्येयक प्रमाणीकरण गर्न पठाउँदा किन प्रमाणीकरण भएन ? यो संविधान मिच्ने काम भयो ।’

यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट मिचिएको सुंविधान पनि सच्याउने काम भएको भन्दै प्रशंसा गरे । उनले भने,‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले नागरिकता विद्येयक प्रमाणीकरण भएर ऐन बनेको अवस्थामा न्यायालयमा मुद्दा परेको भन्दै आफूलाई न्यायलयले न्याय दिने विश्वास रहेको बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्