Logo

सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले तालिम तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्छ : जनस्वास्थ्यविद् प्रधानाङ्ग



काठमाडौं, २६ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रूपमा धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कहरु सार्वजनिक छन् ।

यसै सन्दर्भमा आज (शुक्रबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, समस्या र नियन्त्रण’सम्बन्धी विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित रहेको थियो । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा ठूलो हानी तथा नोक्सानी भएको भन्दै यसको उपभोगलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

 क्यान्सर रोग विशेषज्ञ एवं जनस्वास्थ्यविद किशोर प्रधानाङ्गले सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गरेको बताए । सूर्तिजन्य पदार्थको प्रयोगबाट विशेषगरी क्यान्सर, मुटुको रोग, फोक्सोसम्बन्धी रोग लाग्ने उनले बताए ।

‘सूर्तिजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गर्दछ । प्रतिमहिना आठ लाख र प्रतिदिन २७ हजार, प्रतिघण्टा एक हजार दुई सय २५ जना र प्रतिमिनेट १९ जना मानिसको मृत्य हुने गर्दछ,’– उनले भने ।

साथै, कतिपय मानिसहरु अप्रत्यक्ष धुम्रपानकोसमेत सिकार भइरहेको उनको भनाई छ । सन् २०२० को तथ्याङकअनुसार विश्वको कूल जनसंख्यामध्ये २२.३ प्रतिशतले सूर्तिजन्य पदार्थको प्रयोग गर्ने उनले बताए ।

विश्वभरी एक अर्व ३० करोड मानिसले धुम्रपान गर्ने उनले बताए । यो तथ्याङ्कले विश्वमा सूर्ति सेवनको अवस्था भयावह रहेको पुष्टि गर्ने उनको भनाई छ । पानपराग, पान मसला, सूर्ति, खैनीको प्रयाग छाड्न सकिने र यसको लागि सबैभन्दा पहिला व्यक्तिमा प्रतिबद्धता आवश्यक पर्ने उनको भनाई छ ।

सूर्तिजन्य पदार्थमा चार हजार प्रकारका केमिकल हुने र यो नै नसर्ने रोगको मुख्य कारक रहेको उनले बताए । विश्वमा प्रतिदिन एक लाख १३ हजार मान्छे नसर्ने रोगबाट मर्ने र नेपालमा नसर्ने रोगबाट प्रतिवर्ष एक लाख २७ जना मान्छे मर्ने गरेको उनले बताए । सूर्तिजन्य पदार्थको प्रयोगमा रोकथाम गर्न सके यो भयावह अवस्थाबाट मुक्ति पाउन सकिने उनले बताए ।

नेपालमा पछिल्लो समय क्यान्सर रोगको अवस्था पनि भयावह रहेको उनले बताए । प्रत्येक एक लाख मान्छेमा एक सय तीन जनामा क्यान्सरको समस्या देखिने गरेको उनको भनाई छ ।

क्यान्सर रोग लागेका दूई तिहाई मान्छे अहिले पनि उपचारको पहुँचबाट बाहिर रहेको उनले बताए । क्यान्सर रोकथामका लागि पूर्वसावधानी सबैभन्दा महत्वपूर्ण विषय भएको उनको भनाई छ ।

उनले सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले ट्रेनिङ, जनचेतनामूलक कार्यक्रम, पाठेघरको क्यान्सरविरुद्ध भ्याक्सिनलगयतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्