Logo

सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाएको ऐनको पालना हुन सकेन : काठमाडौं महानगर स्वास्थ्य महाशाखा प्रमुख महर्जन



काठमाडौं, २६ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रूपमा धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कहरु सार्वजनिक छन् ।

यसै सन्दर्भमा आज (शुक्रबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, समस्या र नियन्त्रण’सम्बन्धी विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित रहेको थियो । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा ठूलो हानी तथा नोक्सानी भएको भन्दै यसको उपभोगलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले नेपाल सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाएको ऐनको पालना हुन नसकेको गुनासो पोखिन् । अहिले कतिपय पत्रपत्रिकाहरुमा पनि नियमविपरीत सूर्तिजन्य पदार्थ र मदिराहरुको विज्ञापन आउने गरेको भन्दै उनले आपत्ति जनाईन् । महर्जनले काठमाडौं महानगरले सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण र नियमनलाई थप प्रभावकारी बनाउनका लागि काम गरिरहेको स्पष्ट पारिन् ।

उनले विद्यालयका विद्यार्थीबाट पनि घरघरमा सन्देश पुर्याउन सकेको अवस्थामा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले यस वर्ष महानगरले बजेटसमेत विनियोजन गरेको जानकारी दिईन् । दिगो विकासको लक्ष्य हाँसिल गर्नका लागि पनि सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्