Logo

नसर्ने रोगको प्रमुख कारक तत्व नै सूर्तिजन्य पदार्थ हो, यसको प्रयोग कम गर्न सबै निकायले पहल गर्न आवश्यक छ : डा. उज्जवल चालिसे



काठमाडौं, २६ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रूपमा धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कहरु सार्वजनिक छन् ।

यसै सन्दर्भमा आज (शुक्रबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, समस्या र नियन्त्रण’सम्बन्धी विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित रहेको थियो । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा ठूलो हानी तथा नोक्सानी भएको भन्दै यसको उपभोगलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. उज्जवल चालिसेले विश्वमा नसर्ने रोगको भयावहको कारक तत्वका रूपमा सूर्तिजन्य पदार्थलाई लिने गरिएको बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोग कम गर्न सबै निकायले पहल गर्न आवश्यक रहेको औंल्याए ।

‘सकेसम्म सूर्तिजन्य पदार्थको प्रयोग गर्नै भएन । प्रयोग गर्ने गरेकाहरुले पनि छोड्नुपर्यो । मैले धेरै विद्यार्थीसँग अन्तरक्रिया गर्दा यो सूर्तिजन्य पदार्थको प्रयोग राम्रो होइन । म छोड्न चाहन्छु, धेरैले भनेको सुन्छु । तर, उहाँहरु सक्नुहुन्छ,’– उनले भने ।

धुम्रपान छोड्नका लागि आवश्यक पर्ने औषधीहरु सबै वडावडामा पुर्याउन आवश्यक रहेको उनले बताए । साथै, धुम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थ सेवन छोड्न चाहनेहरुका लागि हेल्प–लाईनको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । उनले पहिले महिलाहरुमा ग्रामीण क्षेत्रमा धुम्रपानको संख्या भएपनि अहिले सहरीया महिलाहरुमा यसको प्रकोप पढेको समेत बताए ।

उपचारमा भन्दापनि रोकथाममा राज्यले जोड दिन आवश्यक रहेको उनले बताए । क्यान्सरका विरामीको चापअनुसार अस्पताल र जनशक्तिको अभाव रहेको उनले बताए । प्रायः क्यान्सरको उपचार नेपालमा सम्भव रहेको उनको भनाई छ ।

‘प्रायः क्यान्सरहरुको उपचार नेपालमा सम्भव छ । तर, कुनै–कुनै हामीसँग छैन । क्यान्सरमा एउटामात्रै उपचार विधि हुँदैन, विभिन्न किसिमका उपचार गरेर विरामीलाई निको पार्ने प्रयास हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्