Logo

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहान्छ : मन्त्री शर्मा



काठमाडौं, २६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताए।

नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, “सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ।”

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उनले उल्लेख गरे। उनले भने, “पत्रकारिताको अध्ययन, ज्ञान र सीपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ।”

आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापीरूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्