Logo

अर्थतन्त्रमा सुधारको सङ्केत



काठमाडौं, जेठ २७ । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।

प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै मरमसलाको २६.६१ प्रतिशत र गैर खाद्य समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको सबैभन्दा धेरै १५.७५ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

समीक्षा अवधिमा नेपाल भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो आवको वैशाखसम्म आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विपे्रषण १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड डलर पुगेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय घाटामा रहे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम छ । प्रतिवेदन अनुसार वैशाखसम्म खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो आय ८८ अर्ब १८ करोड रुपियाँले घाटामा थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्