Logo

मैले घुस नखाइदिनु पनि मान्छेहरुलाई यातना भयोः मन्त्री किराँती (भिडियोसहित)



काठमाडौं, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूलाई मन्त्रीबाट हटाउने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीबाट हट्ने हल्ला खान नपाएकाहरुले चलाएको बताएका हुन् । देशको लागि आवश्यक परे र राष्ट्रिय आवश्यकता पुष्टि भएको खण्डमा आफू मन्त्री पद हाँसीहाँसी छाड्नका लागि तयार रहेको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेसम्म मन्त्रीबाट हटाउने बारेमा कुनै कुरा नगरेको उनको दाबी छ ।

‘यो हल्लैहल्लाको देश, भूपी शेरचनले भनेजस्तै मैले यहाँ के भन्नु छ र अरु । यी खान नपाएका सैतानका हल्ला हुन् । मलाई हटाउने तयारी छ जस्तो लाग्दैन । तर, देशको निम्ति आवश्यक पर्छभने मन्त्री पद मेरा लागि केही पनि होइन । देश र जनताको हितमा टाउको दिन तयार हुन्छु । मेरो निम्ति मन्त्री पद केही पनि होइन । तर, सैतानहरुले हल्ला गरेजस्तो होइन,’– उनले भने ।

पर्यटनमन्त्रीले घुस नखानु धेरैको लागि सजाय भएको उनले बताए । मन्त्रीको कुर्सीमा एक दिनमात्रै बसेपछि घुस र अवैध कामसँग कुनै सम्झौता नगर्ने उनले बताए । ‘मैले ठूला–ठूला विज्ञान र प्रविधिको कुरा गरेको छैन । मैले हाम्रो एयरपोर्ट देशको अनुहार हो त्यसलाई सफा राख्न्पर्छ । हाम्रो वाय् सेवा निगम हाम्रो राष्ट्रिय ध्वजावहाक गौरवको विषय हो, त्यसलाई त्यसलाई राम्रो बनाउनु पर्छ । हाम्रो राष्ट्रिय सम्पदाहरुमा फोहोर छन्, त्यसलाई सफा गर्नुपर्छ । भ्रष्टाचार म पनि गर्दिन, अरुले पनि गर्न हुँदैन भनेर म लाग्दैछु । मैले यति काम गर्दाखेरी अरुको निद हराम भयो यहाँ । हृदय जल्यो । घुस नखाइदिनु पनि मान्छेलाई यातना हुँदोरहेछ । कमिसनको भागबण्डामा नबस्दिँदा खेरी आज रोइलो भइराखेको छ । आगो सहन्छु, तर अन्याय सहन्न । एक दिन किन त्यो कुर्सीमा नबसुँ,’– उनले भने ।

प्रधानमन्त्रीले आफूलाई अहिलेसम्म कुनै कुरामा हस्तक्षेप नगरेको उनको भनाई छ । यति सजिलो प्रधानमन्त्री देशले फेरि नपाउने उनको दाबी छ । साथै, आमा र प्रधानमन्त्रीको वचनलाई आफूले अहिलेसम्म जीवन दर्शनको रुपमा स्वीकार गरेर अगाडि बढेको उनले बताए । सके राम्रो गर्ने र नसके नराम्रो गर्दै नगर्ने भन्ने सिद्धान्तलाई आफूले जहिले पनि अनुसण गर्दै आएको उनले बताए । आमा र प्रधानमन्त्रीको वचन आफ्नो लागि लक्ष्मण रेखा भएको उनले बताए । उक्त लक्ष्मण रेखालाई नाघ्ने दुस्साहस कहिल्यै पनि नगर्ने उनको भनाई छ ।

‘घुस खाने हो भने मन्त्री छ महिना पनि चाहिँदैन रहेछ । १० दिनदेखि ३० दिनको बीचमा मन्त्रीलाई पुग्नेगरी आउँदो रहेछ भन्ने थाहा पाएँ । म त्यसलाई इन्कार गर्छु । मेरो आमाले मलाई ताते गरेर हिँडाउँदा नानी कहिल्यै नराम्रो काम नगर्नु भन्नु भएको छ । हाम्रो प्रधानमन्त्रीले पनि हामीलाई सके राम्रो गर्ने, नसके नराम्रो काम गर्दै नगर्ने भन्नुभएको छ । यो मेरो आज जीवन दर्शन हो । यो मेरो लक्ष्मण रेखालाई मैले नाघेर जान सक्दिन । म आखिरी मर्ने मान्छे हो, मलाई कुनै धन सम्पत्तिको लोभ छैन,’– उनले भने ।

अहिले केही मान्छेहरु ‘यो कस्तो मन्त्री हो ? पैसा दिँदा पनि मन नपराउने हटाइदिउँ’ भनेर चलखेलमा उत्रिएको हुनसक्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot