Logo

दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै



काठमाडौं, जेठ २९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिए ।

सोमबारदेखि नै ती जिल्लामा चामल ढुवानी गरिने उनले बताए । हुम्लामा २५ हजार क्विन्टल चामलको माग आएकाले निर्णय गरेर केही दिनमै चामल पठाउने उनले जानकारी दिए । कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न उत्पादन नहुँदा बर्सेनि अभाव हुने गर्छ ।

कम्पनीले सोलुखुम्बुमा दुई हजार क्विन्टल थप चामलको माग आएकामा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । भोजपुरमा पाँच सय क्विन्टल चामलको माग आएकामा सोही परिणाममा चामल पठाउन लागिएको छ । दैलेखमा एक हजार पाँच सय क्विन्टल, जुम्लामा दुई हजार पाँच सय क्विन्टल चामल पठाउन लागिएको कम्पनीले जनाएको छ ।

यस्तै अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ ।

मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ । यस्तै रुकुमपश्चिममा एक हजार पाँच सय क्विन्टल र बैतडीमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । १२ वटा जिल्लामा हालसम्म ३७ हजार ४२४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

खाद्यान्न ढुवानी गर्ने म्याद असारसम्म भएकाले पनि धेरै ठाउँमा चामल पुग्न बाँकी रहेको कम्पनीले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot