काठमाडौं, जेठ २९ । नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिन लागेको हो।
विश्व बैङ्कको करिब ३५ अर्ब रुपियाँ (२७ करोड ५० लाख डलर) बराबरको सहयोगमा आयोजनाको सुरुवात भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यक्रममा आयोजनाको सुरुवात गरेका छन्।
विश्व बैङ्कका अनुसार विशेष गरी महिला उद्यमी र व्यापारीका लागि आर्थिक अवसर वृद्धिमा ध्यान दिँदै आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहित कम्तीमा तीन वटा बजार क्षेत्र निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको छ। बङ्गलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रमा मालसामान र यात्रुबाहक सवारीसाधनको सहज आवतजावत गर्ने गरी नेपालको पूर्वतयारी तथा कार्यान्वयनका लागि यस आयोजनाले सहयोग गर्नेछ।
यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। नेपाल सरकार र विश्व बैङ्कबिच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो। गोरखापत्र दैनिकबाट




प्रतिक्रिया