Logo

पार्क निर्माणमा जोड दिँदै बागमती सभ्यता समिति



काठमाडौं, जेठ ३१ ।  धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । बागमती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन् ।

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले बागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ ।

ललितपुरको ज्वागलमा वि.सं २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ ।

युएनपार्कअन्तर्गतको करिब १ हजार ५ सय ७६ रोपनी जग्गा वि.सं २०७५ देखि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँगसँगै बागमती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, ‘बागमती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौँ । उहाँहरूले संस्थागतरूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ,’ उनले भने ।

अधिकारी अर्यालका अनुसार बागमती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । बागमती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र वस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र वस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।

हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।

‘अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरको छेउमा पार्क मात्र नभइ बागमती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करिब चार वर्षपछि बागमती किनारका पार्क आकर्षक देखिने छन्,’ एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारीले भने ।

बागमती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot