काठमाडौं, ३२ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । आज (बिहीबार) अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसँगको सामूहिक भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए । उनले भने– ‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो ।’
करको व्यवस्थाले मुलतः आयातित वस्तुलाईमात्रै महँगो बनाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उनको भनाई छ । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने अवस्थामा देश पुगेको भन्दै उनले देशभित्रै उत्पादन बढाउनतिर लाग्नसमेत अर्थमन्त्रीले आग्रह गरे ।
‘पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ,’– अर्थमन्त्री महतले भने ।
अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गराएको बताए । उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयहरुलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए । भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया