समाजवादी मोर्चाको नेतृत्व आलोपालो : माओवादी नेता


काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सत्ता टिकाउनमात्र समाजवादी मोर्चा बनाउन नलागेको बताएका छन् । नेपाल र नेपालीको भविष्यको रक्षा गर्दै समाजवादी गन्तव्यमा लाग्नु नै मोर्चा गठनको लक्ष्य रहेको उनको दाबी छ ।
‘सत्ता टिकाउने चलखेल बनाउने गर्न मात्र समाजवादी मोर्चा बनाउन लागेका होइनौं । मुलुकमा विद्यमान विसंगति, विकृतिको अन्त्य गर्न, जनताका असन्तुष्टि समाधान गर्न, राजनीतिक स्थिरता दिन र परिवर्तनलाई संस्थागत गर्न मात्र होइन, दलहरु आपसमा झगडा गर्छन् भन्ने मनोविज्ञानलाई चिरेर जनतामा जनतामा नयाँ सन्देश दिने हिसाबमा अघि बढेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सत्ता समीकरणमा निर्णायक शक्ति बनाउनका लागि मात्र मोर्चा बनाउन नलागिएको पनि केसीले बताए । मोर्चा कसको नेतृत्वमा अघि बढ्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘दलहरुलाई जे मान्य हुन्छ, त्यही गर्ने हो । आलोपालो नेतृत्व पनि हुन सक्छ । मिल्दासम्म पार्टी एकता पनि हुन सक्छ । अहिलेलाई आआफ्ना सैद्धान्तिक मत हुँदाहुँदै पनि मोर्चा बनाएर अघि बढ्ने सहमति छ ।’
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा बनाउने प्रयास छ । प्रतिनिधिसभामा विप्लवको नेकपाबाहेकका दलका ५४ सांसद छन् ।