पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण


काठमाडौं, असार ६ । सञ्चालनमा आएको ६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । चीनको छेन्दु–तियान्फु विमानस्थलबाट १३५ यात्रु बोकेर आएको सिचुवान एयरलायन्सको चार्टर जहाज आज पोखरामा अवतरण गरेको हो ।

सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान ९ बजार ९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । २ हजार किलोमिटरको दुरी तय गरेको उक्त जहाज काठमाडौँको आकाश हुँदै पोखरा पुगेको हो । करिव एक घण्टा पोखरा विमानस्थलमा होल्ड हुने उक्त जहाज आजै काठमाडौं हुँदै चीन फर्किनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने छन् । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका छन्।

अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ ।विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।