Logo

राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने, यहाँ षड्यन्त्र बलियो भइरहेको छः रास्वपा नेता झा



काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले नेपालमा राजनीति भन्नेवित्तिकै पहिला षड्यन्त्रको चर्चा हुने गरको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने ठाउँमा षड्यन्त्र बलियो भइरहेको बताएका हुन् ।

‘यो देशमा राजनीति भन्नावित्तिकै पहिलो चाहिँ षड्यन्त्र (कन्पिरेसी थ्यौरी) को चर्चा हुँदैरहेछ । सरलरुपमा केही कुरा बगिरहेको छ भने कतै विश्वास नै छैन । जतिपनि आशंका, आवेग, अभियोग छ, राजनीति बलियो त त्यो बेला हुन्छ जब संयन्त्र बलियो हुन्छ । यहाँ त षड्न्त्र बालियो हुँदैछ । हामी त्यो भन्दा अलग रहन चाहन्छौं,’– उनले भने ।

रास्वपा आफ्नोमात्रै स्वार्थका लागि अगाडि नबढेको उनको भनाई छ । आफूहरु सिंगो देश बनाउने लक्ष्य बोकेर राजनीतिमा आएको उनको भनाई छ । साथै, अहिले बनेको समाजवादी मोर्चाको कुनै औचित्य र अस्तित्व नरहेको उनको भनाई छ । आगामी ०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाले बहुमत ल्याउनमा यस्ता मोर्चाले रोक्न नसक्ने उनले दाबी गरे । माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपाको स्मरण गराउँदै उनले दुईवटा पाईलटले बोइङ बीचमै क्यास गराएजस्तै यो मोर्चा पनि धेरै लामो समय नटिक्ने बताए । साथै, रास्वपाले चुनाव अगाडि कुनै दलसँग पनि गठबन्धन र मोर्चाबन्दी नगर्ने उनको भनाई छ ।

‘समाजवादी मोर्चा भनेको एउटा राजनीतिक मोर्चामात्रै हो । त्यसको संयन्त्र फरक–फरक हुँदैन । आफ्नो–आफुनो पार्टी जे छ र अभ्यास गरिरहेको छ, त्यही हुन्छ । मोर्चाको मात्र एउटा संयन्त्र भनेको केन्द्रमा मात्र हुन्छ । मार्चा र राजनीतिकका स्वार्थपूर्ण गठबन्धनहरु हामीले धेरै देखेका छौं । केहीले स्वीकारे, अभ्यास गरे । दुई–दुई वटा पाईलट आएर बोइङ उडाउने अभ्यास पनि भयो । त्यो बीचमै क्यास पनि भयो,’– उनले भने ।

मोर्चा अहिलेको राजनीतिक संक्रमणकालमा नेतृत्व सुरक्षित गर्ने प्रयासमात्रै भएको उनले बताए । साथै, रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने उनको दाबी छ । पाठ्यक्रम अनुसार पढाई, परीक्षा, नतिजा र पाठ्यपुस्तक नपाएको खण्डमा तिनै विद्यार्थीको पक्षमा रास्वपाले आवाज बुलन्द पार्ने तर विद्यार्थी संगठन नबनाउने उनले बताए ।

‘हाम्रो भातृ संगठन हुनेछैन । हाम्रो लागि विद्यार्थी त्यो विद्यार्थी मात्र हो जसले टाइममा करिकुलम अनुसार उसको परीक्षा भइरहेको छैन वा परिणाम आएको छैन वा किताब पाइरहेको छैन । हाम्रा लागि ती विद्यार्थी हुन् । कुन रंगको झण्डा बोक्ने कृषक हाम्रो हो भन्ने हामीलाई सरोकार नै छैन ।’ उनले भने, ‘हामीलाई सरोकार कृषकले मल पाइरहेको छैन वा पाइरहेको पनि कौशी खेति गर्नमात्रै पाइरहेको छ । खेतका लागि पर्याप्त छैन, त्यो सरोकार हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot