Logo

प्रचण्ड सरकार ढल्न लागेको हो त ?



काठमाडौं, ८ असार । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता–सहकार्यको गृहकार्य थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाउनको लागि कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरुबीच समझदारी बनेको उच्च स्रोतको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित यतिवेला उपचारको क्रममा सिंगापुरमा छन् । उनी स्वदेश फर्किएलगत्तै सरकार फेरबदल हुने बुझिएको छ । प्रचण्डबाट सरकार ठीक ढंगले चल्न नसकेको निश्कर्षमा देउवामात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीपनि पुगेको स्रोतको दाबी छ ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले आफ्नो सरकार असुरक्षित महशुस गरेर नै सत्ता गठबन्धनका तीन दल र बाहिरको एक दल गरेर चार दलीय समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । प्रचण्डको उक्त कदमले कांग्रेस सभापति देउवा बेखुशी छन् । उनले आफ्नो असन्तुष्टि पार्टीमा आफूनिकटका नेताहरुमार्फत राखिसकेका छन् । कांग्रेस र एमालेबीच सत्ता–सहकार्य हुने वा नहुने भन्ने कुरा कांग्रेस सभापति देउवा सिंगापुरबाट फर्किएपछि प्रष्ट हुनेछ ।

उता, प्रधानमन्त्री दाहालसँग चुनावी सहकार्य गरेका बाबुराम भट्टराईले पनि प्रमुख दलहरुबीच सहकार्यकर्ताको आवश्यकत्ता औंल्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत आज लेखेका छन–”गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण (turbulent)बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्!”

भट्टराईले थप भनेका छन्–‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बाॅकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ!’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot