Logo

पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा



काठमाडौं, ८ असार । एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् ।

सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै नागरिकता रहेको छ । रामनाथ सोनारको विरगञ्जको माईस्थानमा सुन चाँदी पसल रहेको छ । उनले ‘जय माँ दुर्गे ज्वेलर्स’ सञ्चालन गरेका छन् । रामनाथले सुन चाँदी पसलको आडमा अवैध धन्दा पनि चलाउने गरेको नाम उल्लेख नगर्ने शर्तमा उनको एक आफन्त बताउँछन् । रामनाथ लागूऔषध कारोबार, हुण्डी कारोबार र सुन तस्करमा संलग्न रहेको उनको आरोप छ । ती व्यक्तिले बताएअनुसार रामनरेश साह सोनार (भारतीय नाम बच्चा साह) र उनकी श्रीमती मञ्जुदेवी सोनारको नाममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत चितवनमा मुद्दासमेत चलिरहेको छ । उनको परिवारको चार जनाको नेपाल र भारतको दोहोरो नागरिकता रहेकोबारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपनि अहिले उक्त उजुरीउपर छानविन नभई तामेलीमा रहेको बताइएको छ ।

रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागून ५ गते उल्लेख छ भने । बाबुआमाको नाम महादेव साह सोनार र वास्मतीदेवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।

त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ ।
त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जुदेवी सोनार रहेको छ ।

मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । उनीहरु विहारस्थित मुख्य ग्राम ईनरवा डाँकघर हरपुरथाना आदापुर ग्राम पंचायत श्रीसियाकला प्रा.नि.क्षे.स. ४ पंचायत प्रा.नि.क्षे.स. १५ जिल्ला परिषद प्रा.नि.क्षे.स. १२ अंचल आदापुर प्रखण्ड आदापुर अनुमण्डल रक्सौल जिल्ला पूर्वी चम्पारण पिनकोड ८४५३०१ भन्ने ठाउँको भएको उजुरीमा उल्लेख छ । तर, उक्त उजुरीलाई जिप्रका पर्साले अहिले तामेलीमा राखेको बताइएको छ ।

दोहोरो नागरिकताको सन्दर्भमा रामनाथ सोनारसँग बुझ्न खोज्दा उनले आफूहरुको पर्साको सिडिओसँग राम्रो सम्बन्ध रहेको र समाचार लेखेर केही फरक नपर्ने बताए । रिपोर्टर्स नेपालसँगको संवादमा उनीमा देखिएको आत्मविश्वासले उनी कतैबाट संरक्षित छन् भन्ने पुष्टि हुन्छ । उनको नागरिकता छानविन र कारबाहीको माग गर्दै २०७८ कात्तिक १ गते जिप्रका पर्सामा परेको उजुरी तामेलिमा राखिनुले पनि रामनाथले दाबी गरेजस्तो सिडिओसँगको सम्बन्धलाई पुष्टि गर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot