Logo

सात वर्षदेखि अलपत्र सडक बर्षा लागेपछि कालोपत्रे हुँदै



पाल्पा, असार ९ । निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो।

सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज १९ गते सम्झौता भएको सडक निर्माणको जिम्मा वाइपी जयरक्तकाली जेभी पुलचोक ललितपुरले लिएको थियो तर सम्झौता अनुसार काम नगरी ठेकेदारले कालोपत्रेको काम सात वर्षसम्म अलपत्र पारेको स्थानीय बासिन्दाको भनाइ छ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय हुँदा नै विश्व बैङ्कको आठ करोड ३१ लाख रुपियाँमा सडक कालोपत्रे गर्न सम्झौता भएको थियो। हाल यो सडकको जिम्मा लुम्बिनी प्रदेश सरकार मातहतको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले लिँदै आएको छ। निर्माण व्यवसायीलाई पटक पटक ताकिता गरेपछि कालोपत्रेको काम सुरु भएको सडक पूर्वाधार कार्यालयले जनाएको छ। धेरै पटकको दबाब र कारबाही गर्ने चेतावनीपछि व्यवसायीले सडक कालोपत्रे गर्ने काम सुरु गरेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख अरुण गुप्ताले जानकारी दिए ।

उनले भने, “यो योजनाका लागि छ पटकसम्म म्याद थप गरिसकिएको छ। अब त काम होला भन्ने आशा पलाएको छ।” जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार, प्रदेश सरकार तथा जनप्रतिनिधि लागेर व्यापक दबाब दिएपछि काम सुरु भएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot