Logo

बाँकेका मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर मनाए बकर इद



जानकी १४ असार । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इदउल अजहा (बकर इद) देशैभर मनाइएको छ । नेपालगन्जका मुस्लिम धर्मावलम्बीले पनि सामूहिक नमाज पढेर बकर इद मनाएका छन् ।

आज नेपालगन्जस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर बकर इद मनाएका हुन् । सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सद्भाव कायम राख्दै इदगाहमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका थियो । नगरप्रमुख विष्टले नेपालगन्ज सद्भावको सहर भएको हुनाले यहाँ सबै धर्मावलम्बीले एक–अर्काको पर्वलाई सम्मान गर्नुपर्ने बताए ।

“हामी सद्भावको सहरका नागरिक हौँ, यस अर्थमा हामीले एक–अर्काको धर्म र पर्व दुवैलाई सम्मान गर्न आवश्यक छ”, उनले भने, “मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इदउल अजहा (बकर इद)को अवसरमा भाइचारको नाताले बाँकेवासी सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई धेरै–धेरै शुभकामना छ ।”

बकर इदको अवसरमा नगर उपप्रमुख कमरुद्दिन राईले पनि मुस्लिम धर्मावलम्बीलाई इदको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि इदको शुभकामना व्यक्त गरेका थिए । नेपालगन्जस्थित इदगाहमा केहीले इदगाहभित्रै त केहीले ठाउँ अपुग भएर इदगाह बाहिर सडकमै सामूहिक नमाज पढेर इद मनाएका थिए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्