Logo

बेलायतको स्थानीय राजनीतिमा बढ्दै छ नेपाली मूलको सहभागिता



लन्डन, असार १५ । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ।

बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो।

पूर्वब्रिटिस गोरखासमेत रहेका बार्नेट बरोको काउन्सिलर लक्ष्यबहादुर गुरुङले नेपाली मूलका निर्वाचित भएपछि आफ्नो समुदायको आवाज काउन्सिलको च्याम्बरसम्म पुगेको र स्थानीय तहमा समुदायको पहिचान स्थापित भएको बताए। सोही बरोबाट सन् २०१८ मा उपमेयरसमेत भइसकेका गुरुङले आफ्नो क्षेत्रमा नेपालीको समाधि स्थल बनाएको स्मरण गर्दै आफ्नो बरोले नेपालका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको जानकारी दिए। उनी सत्तारूढ कन्जरभेटिभ पार्टीबाट निर्वाचित भएका हुन्।

विशेषगरी समुदायमा सक्रिय भएका नै राजनीतिमा बढी संलग्न भएका देखिन्छन्। हालै मात्र मेडवे बरोको काउन्सिलमा मेयरमा निर्वाचित निना गुरुङ कोभिड–१९ पछि मात्र राजनीतिमा सक्रिय रूपमा लागेको बताउन्छिन्। नेपाली मूलकी पहिलो महिला मेयर गुरुङले त्यस क्षेत्रमा सामाजिक अभियन्ताको पहिचान बनाएकी थिइन्। शिक्षा, समानता र सामाजिक कार्यमा सक्रिय भएर लागेकी उनले निष्पक्ष रूपमा काम गरेर नेपाली समुदायलाई गौरवको अनुभव गराउने बताईन्। २८ वर्षदेखि कन्जरभेटिभ पार्टीले जित्दै आएको उनको बरोमा लेबर पार्टीले ३३ स्थानमा जितेपछि उनलाई मेयर हुन सजिलो भएको थियो।

रोयल बरो अफ ग्रिनबिचमा लेबर पार्टीका तर्फबाट काउन्सिलर पदमा जितेलगत्तै भएको पार्टीको आन्तरिक निर्वाचनमा उपमेयरमा निर्वाचित जित रानाभाट रोयल बरो अफ ग्रिनबिच नेपाली सोसाइटीको अध्यक्षसमेत हुन्। सामाजिक कार्यमा सक्रिय उनी कोभिडको समयमा उल्लेखनीय योगदान गरेबापत ग्रिनबिच र बेक्सले बरोबाट ‘लकडाउन हिरो’मा नामाङ्कित पनि भएका थिए ।

स्थानीय तहमा नेपालीले सक्रियता बढाउँदै लगे पनि बेलायतको संसदीय यात्रामा भने कुनै पनि नेपालीले अहिलेसम्म सफलता पाउन सकेका छैनन्। सन् २०१७ को संसदीय निर्वाचनमा इङ्ग्ल्यान्डको डार्टफोर्ड क्षेत्रमा लेबर पार्टीका तर्फबाट उम्मेदवार भएका डा. बच्चुकैलाश कैनी निकटतम प्रतिद्वन्द्वी बने। त्यसअघि र पछि कुनै पनि नेपालीले संसदीय निर्वाचनमा भाग लिएको पाइएको छैन। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्