Logo

भोजपुरका खाली जमिनमा वृक्षरोपण



भोजपुर, १५ असार । यहाँका खाली जमिन तथा नाङ्गा पाखामा वृक्षरोपण अभियान थालिएको छ । वातावरणमा पर्ने असर न्यूनीकरण तथा वन क्षेत्रको विकास तथा विस्तारका लागि यस्ता ठाउँमा वृक्षरोपण थालिएको हो ।

सो अभियानअन्तर्गत डिभिजन वन कार्यालयको आयोजनामा षडानन्द नगरपालिकाको भीम गणेश सामुदायिक वनको गैरी चौरमा वृक्षरोपण गरिएको छ । यहाँको खाली क्षेत्रमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा बिरुवा रोपिएको हो ।

“खाली तथा नाङ्गा पाखालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपणको कार्यक्रम गरिरहेका छौँ”, प्रमुख शाहले भने, “स्थानीय तह तथा अन्य निकायसँगको सहकार्यमा यसमा जोड दिएका हौँ, यो कार्यक्रम निरन्तर जारी रहन्छ ।” विगतका दिनमा सदरमुकाम केन्द्रित कार्यक्रम हुने गरेको भए पनि वन कार्यालयले यस पटक भने षडानन्द–७ मा रहेको सामुदायिक वनमा वृक्षरोपण गरेको हो । यहाँ चिउरी, रुद्राक्ष, विभिन्न अर्नामेन्ट प्लान्ट, कल्की, जामुन गरी पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

वातावरणको संरक्षणका लागि वन कार्यालयले थालेको काम स्वागतयोग्य रहेको उक्त नगरपालिकाले जनाएको छ । गैरी चौर ऐतिहासिक महत्व बोकेको ठाउँ रहेकाले यसको पहिचान जोगाउन भूमिका खेल्ने नगरपालिकाको भनाइ छ । त्यसको संरक्षणका लागि वनसँगको सहकार्यमा काम गर्ने लक्ष्य रहेको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताए।

“वृक्षरोपण अभियानलाई जोड दिन आवश्यक छ”, प्रमुख उदासले भने, “मानव जीवनका लागि वनको अति नै आवश्यक छ, वृक्षरोपणपश्चात् गैरी चौर क्षेत्रलाई ऐतिहासिक क्षेत्रका रुपमा विकास गर्ने योजना छ, यो अभियानमा हाम्रो पनि साथ रहन्छ ।”

गैरी चौर ऐतिहासिक क्षेत्र रहेकाले यसको फरक ढङ्गले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने वडा कार्यालयले जनाएको छ । यो नेपाल एकीकरणको  समयमा फौजले तालिम अर्थात् तारो हान्ने चौर भएकाले ऐतिहासिक महत्वलाई बचाउँदै वृक्षरोपण गर्नुपर्ने वडाध्यक्ष दीपेश विष्टले बताए।  ऐतिहासिक क्षेत्र रहेकाले पूर्ण रुपमा वृक्षरोपण गरेर यहाँको महत्व मेट्न नहुने वडाध्यक्ष विष्टको भनाइ छ ।

रोपिएका बिरुवाको संरक्षणमा वन उपभोक्ता समितिले मुख्य भूमिका खेल्नुपर्ने नगर उप–प्रमुख प्रमिला राईले बताइन् । नगरपालिकाले पनि बिरुवा संरक्षणमा ध्यान दिने उनको भनाइ छ । बर्सेनि बिरुवा रोपणका कार्यक्रम भए पनि उपलब्धि भने सन्तोषजनक नरहेको उप–प्रमुख राईले बताइन् । वन कार्यालयले यहाँका कृषकलाई पाँच सयलाई दाँते ओखरका बिरुवासमेत वितरण गरेको छ । ओखर खेतीले किसानलाई आर्थिक रुपमा समेत टेवा पुग्ने कार्यालयको भनाइ छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot