Logo

प्रचण्डबाट धोका खाएका बाबुराम ओली र रविसँग सहकार्यको मुडमा !



काठमाडौं, १६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग टाढिएका छन् । चुनावताका पार्टी एकता नै गर्नेगरि मित्रता देखाएका यी दुई पूर्व सहयात्रीहरु सरकार गठन भएपछि भने विस्तारै टाढिएका थिए ।

पछिल्लो समय समाजवादी मोर्चा गठनको लागि बाबुरामले प्रधानमन्त्री दाहालसँग निकै लामो छलफल तथा गृहकार्य गरेका थिए । तर, समाजवादी मोर्चा घोषणा हुँदा बाबुराम भने छुटे । कतिपयले प्रधानमन्त्री दाहालले बाबुरामलाई जानजान मोर्चामा सहभागी नगराएको चर्चा गरेका छन्। कतिपयले भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारण मोर्चामा नसमेटिएको पनि दाबी गरेका छन् ।

यादव र भट्टराईबीच पार्टी विभाजनको कारण राम्रो सम्बन्ध छैन् । समाजवादी मोर्चालाई लिएर बाबुरामले सार्वजनिक रुपमै सत्ता जोगाउने अस्त्र नबनोस भनेर टिप्पणी गरेका थिए । धेरैले बाबुराम कता लाग्छन् ? भनेर चर्चा गर्न थालेका छन् । पछिल्लो समय बाबुराम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने हुन की भन्ने पनि अनुमान गर्न थालेका छन् । यस्तो अनुमान गर्नुमा बाबुरामले रास्वपाको प्रथम स्थापना दिवसको अवसरमा ०८४ मा वैकल्पिक शक्तिले नै बहुमत ल्याउने र एकल सरकार बनाउने टिप्पणी दिनु थियो ।

बाबुरामले प्रचण्डबाट आफूलाई फेरि पनि धोका भएको निश्कर्ष निकालेका छन् । उनले आफूनिकट नेताहरुसँग यस्तो गुनासो गर्न थालेका छन् । तर, प्रधानमन्त्री दाहाल भने बाबुराम पनि छिट्टै मोर्चामा समेटिनेमा विश्वस्त छन् । उनले बाबुरामसँग छिट्टै पार्टी एकता हुन लागेको दाबी गरेका छन् । मोर्चामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा सहभागी भएको छ । र, छिट्टै नेकपा र माओवादी केन्द्रबीच एकताको हल्ला छ ।

दुई दलबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताईएको छ। स्वयम प्रधानमन्त्री दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले पनि विप्लवसँग पार्टी एकताबारे गम्भीर छलफल भैरहेको सार्वजनिक रुपमै घोषणा गरेकी छिन् । प्रचण्डले नेतृत्व गरेको समाजवादी मोर्चामा विप्लव अटाएको र बाबुराम छुटेकोमा माओवादीभित्र पनि नयाँ ढंगले बहस सुरु भएको छ ।

बाबुराम भने प्रचण्डबाट भएको धोकालाई लिएर नयाँ ढंगले अघि बढ्न खोजेका छन् । स्रोतकाअनुसार बाबुरामले अब रास्वपा र एमालेमध्ये एकसँग सहकार्य गर्नेगरि छलफल अघि बढाएका छन् । उनी हिजो असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सरिक हुन चितवन पुगेका थिए । बाबुराम चितवन पुगेकै बेला एमाले अध्यक्ष अ‍ोली र रास्वपा सभापति लामिछाने पनि चितवनमै थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot