Logo

चुनावका बेला जनतासँग गरेको वाचा पूरा गरेको छु : कौडेना अध्यक्ष यादव



  • बखतियार अलि

सर्लाही, १९ असार । कौडेना गाउँपालिका अध्यक्ष रूपेशकुमार यादवले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पूरा गरेको बताएका छन्।

स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा आफू निर्वाचित भएको पहिलो वर्षमै पालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बाचा अनुसार वडानम्बर २ स्थित् फूलपरासीमा १५ शय्याको सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरि आज(मङ्गलबार) उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको उनले बताए।

कौडेनाबासीसँग मत माग्दा गरेका सबै बाचा आफ्नो कार्यकालमा पूरागरि छाड्नेसमेत उनले दाबी गरे।

नवनिर्मित सामुदायिक अस्पताल सञ्चालन भएपछि कौडेनालगायत आसपास अन्य पालिकाका जनताहरू हर्षित भएको स्थानीय रामदुलार रायले बताए। सानोभन्दा सानो स्वास्थ्य समस्याका लागिपनि स्थानीयहरूले सदरमुकाम मलंगवा अथवा रौतहटको गौरलगायतका शहरी क्षेत्रमा जानुपर्ने बाध्यता रहेको स्थानीयहरूले बताएका छन्।

अस्पताल संचालनमा आएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय रघुबिर यादव बताउँछन्।

उक्त सामुदायिक अस्पतालको मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र राय यादवले संयुक्त रूपमा उदघाटन गरेका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने र गठबन्धन बाहेक अन्य केही विकल्प नभएको दाबी गरे।

स्वास्थ्यमन्त्री बस्नेतले आफू पदमा रहेसम्म आर्थिक अभावका कारण कुनैपनि बिरामीको अकालमा ज्यान नजाने दाबी गरे। उपचार गराउन नसक्ने विपन्न बिरामीहरूको उपचार सरकारले गराई दिने मन्त्री बस्नेतले बताए।

उद्घाटन कार्यक्रममा मधेस प्रदेशका सांसद जंगिलाल राय, कौशल किशोर राय, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कौडेना गाउँपालिका उपाध्यक्ष नगीना यादव, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली काँग्रेस सर्लाहीका जिल्ला सभापती सुरेन्द्र सिंह, काँग्रेस सर्लाहीका पूर्वसभावति लक्षमण राय, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्