Logo

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव



महोत्तरी, २२ असार । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गरे ।

मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गरे । “हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्”, अध्यक्ष यादवले भने, “यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका प्राचीन परम्परा कुनै नछुटुन् ।” उनले इतिहास लेखनका क्रममा मधेसका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गरे ।

कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने औँल्याए । यसैगरी भारतीय प्राज्ञ अयोध्यानाथ झाले नेपालको मधेस भू–भाग र भारतको बिहारका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ र रहनसहन मिल्दाजुल्दा रहेका हुँदा यी सबैको खोजी हुन आवश्यक रहेको बताए ।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’को अध्यक्षतामा भएको दुईदिने कार्यक्रममा ‘मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म’, ‘मधेसको इतिहास–गण्डकी पूर्वदेखि कोशी पश्चिमसम्म’, ‘मधेसको इतिहास–पूर्व मेचीबाट कोशीसम्म’, ‘मधेस प्रदेशको साहित्य, संस्कृति’ र ‘मधेस प्रदेशको भाषा/ कला’सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए ।

कार्यक्रममा नेपालको मधेस र सीमावर्ती भारतका भाषा/साहित्य क्षेत्रमा कार्यरत प्राज्ञहरू सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्