Logo

डोटीका ग्रामीण सडक अवरुद्ध



दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ ।

पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि सास्ती भोग्दै आएका छन् । वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुनालेखबाट घागल, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुडिसल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामानडौँ सडक, दिपायलबाट केआइसिंह गाउँपालिका हुदैँ बोगटान फुड्सिल गाउँपालिकासम्मको ग्रामिण सडक, जोरायल गाउँपालिकाको बिपीनगर खसरेबाट गड्सेरा सडक, खड्यौलीदेखि मन्नाकापडीको बरलगाउलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने कतिपय सार्वजनिक यातायातका यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिराका कारण सहजपुर–बिपीनगर हुँदै बोगटनको छिडीखानसम्म चल्ने बस तथा जीप बन्द रहेका छन् । साथै बाग्छेडाबाट बोगटान फुडिसलसम्म जाने कच्ची मार्गमा समेत दुई हप्तादेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय दिपेन्द्र बोहराले बताए ।

घाम लागे धुलो हुने पानी परे हिल्याम्मे हुने जिल्लाका ग्रामीण सडक वर्षात्का कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएकाले विकास निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या भइरहेको बडीकेदार–५ का वडासदस्य भीम बोहराले बताए । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्र्याक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको बडीकेदार–५ का बासिन्दा लक्ष्मण रम्तेलले  बताए ।

ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदारका स्थानीय मीन शाहले बताए । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेकाले पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको शाहले बताए । रासस



प्रतिक्रिया दिनुहोस्