Logo

संसद्को नयाँ भवनको काम ४ वर्षमा ६२ प्रतिशत



काठमाडौं, असार २६ । सिंहदरबारको पुतली बगैचामा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको भौतिक प्रगति ४ वर्षमा ६२ प्रतिशत मात्र पुगेको छ। पटकपटक म्याद थप हुँदै यसको निर्माण पूरा गर्ने अन्तिम मिति २०८० असोज १९ गते सारिएको छ। यो मितिमा भने जसरी भए पनि भवन निर्माणको काम सबै पूरा गर्ने सरकारले प्रतिबद्धता गरेको छ।

संसद्को हिउँदे अधिवेशन सकेसम्म नयाँ भवनमै बसाउने गरी तयारी अघि बढेको सरकारको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र सहरी विकासमन्त्री सीता गुरुङले सोमबार निर्माण भइरहेको भवनको अवलोकन गरेका छन्। अवलोकनपछि बोल्दै प्रधानमन्त्री दाहालले सकेसम्म संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट गर्न सकियोस् भन्ने सरकारको मिसन भएको बताए। यसका लागि काम युद्धस्तरमा भइरहेको उनको भनाइ थियो। यसैगरी तोकिएको मितिमा नयाँ भवन निर्माण सक्न सहरी विकासमन्त्री गुरुङले निर्देशन दिएकी छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ५ अर्ब ३ करोड रूपैयाँमा २०७६ असोज १६ गते संघीय संसद्का नयाँ भवन निर्माण गर्न औपचारिक सम्झौता गरिएको थियो। त्यसअघि २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ असोज ३ गते नयाँ भवनको शिलान्यास गरेका थिए।

सहरी विकास मन्त्रालयका अनुसार यस कामका लागि हालसम्म सरकारले ३ अर्ब २५ करोड रूपैयाँ भुक्तानी दिइसकेको छ। मन्त्रालयको अनुसार हालसम्म यसको भौतिक प्रगति ६२ दशमलव १० र वित्तीय प्रगति ६४ प्रतिशत पुगेको छ।

मन्त्रालयका अनुसार नयाँ निर्माण भइरहेको संघीय भवनमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संघीय संसद्का समितिहरूका कार्यालय रहनेछन्। त्यस संरचनामा विभिन्न पार्टीका संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा भवन निर्माण भरहेका छन्। यसैगरी ४ वटा गेट र भवन वरिपरिको क्षेत्रलाई प्राकृतिक सौन्दर्य बनाउने गरी भव्य संरचना निर्माण भइरहेको मन्त्रालयले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot