Logo

डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका



सविता सिंह ठकुरी –

डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान जाने समेत देखिएको छ । यसको नकारात्मक प्रभावले मानिसहरुको व्यवहार, पढाई, काम र सम्बन्धमा धेरै असर पार्दछ । कुनै समयमा हामीलाई थाहा पनि नहुन सक्छ की हामीलाई यो रोग लागेको छ भनेर । यस्तो रोग लागेमा हामीले बेलैमा यसबारेमा जानकारी लिई समस्या समाधान गर्न जरुरी हुन्छ । यो रोगले मानसिक मात्र नभई शारीरिक र सामाजिक समस्या पनि उत्पन्न गराउँछ ।

डिप्रेशन हुँदा मानिसमा रमाइलोपनमा रुचि हट्दै जाने, कुनैपनि काममा मन नलाग्ने, मन निरास हुने, बोल्न मन नलाग्ने, बालबालिकामा पढाईमा समस्या देखिने, खाना नरुच्ने, थकान महशुस हुनेजस्ता समस्या हुन्छन् । यस्ता समस्या कसैलाई यो रोग नलागेता पनि देखिन्छ सक्छ । तर, यस्तो समस्याहरु केही दिनमै ठिक हुन्छ भने त्यस्ता व्यक्तिहरुलाई डिप्रेशन भएको हुदैँन । यो रोग व्यक्तिमा लामो समयसम्म देखापर्ने गर्दछ । यस्ता समस्या देखिएमा समयमै चेकजाँच ग¥यौं भने समयमै ठिक हुन सक्छ । त्यसैले यस्ता रोगहरुको समयमै पहिचान र उपचार जरुरी हुन्छ ।

हाम्रो शरीरमा विभिन्न रसायनहरु हुन्छन् । त्यस्तै मस्तिष्कमा पनि एउटा न्युरो ट्रान्समिटर सेरोटोनिन हुन्छ । सेरोटोनिन केमिकलको कमिले गर्दा डिप्रेशन हुने गर्दछ भने वंशाणुगत गुणले गर्दापनि मानिसलाई डिप्रेशन हुने गर्दछ । घर वरिपरिको वातावरण र व्यवहारले गर्दा पनि हुने गर्दछ । मानिसमा भएको दुर्वव्यवहार, हिंसा, झैझगडा वा कुनै कुराको हेपाहले गर्दा मानिसहरुले चिन्ता लिईरहेने हुनाले यो रोग देखा पर्न सक्दछ । धेरै मादक पदार्थको सेवनले गर्दापनि मस्त्ष्किमा भएको केमिकललाई तलवितल बनाउनाले पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ ।

डिप्रेशनका लक्षणहरू

१. निद्रा नलाग्ने
२. मनमा कुराहरु खेलिरहने
३. मानसिक वा शारीरिक थकान महशुस हुनु
४. रमाइलो वातावरणमा घुलमिल हुन मन नलाग्ने
५. सानोतिनो कुराको धेरै चिन्ता लिने
६. एक्लै बस्न मन पराउने
७. खाना नरुच्ने
८. काम गर्ने जाँगर हराएर जाने
९. पढाईमा ध्यान दिन नसक्ने
१०.सोच्न सक्ने क्षमता कम हुँदै जाने
११. अनेक कुराहरु सोच्ने र मर्न मन लाग्ने ।

उपचार

डिप्रेशनको उपचारको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानसिक चिन्तामा कमि ल्याउनु हो । मानसिक चिन्ता कम भएपछि डिप्रेशन आफैँ ठिक हुन्छ । मानसिक चिन्ता कम गराउने तरिका अनेक हुन्छन् । जस्तै कि औषधी सेवन गरी मस्तिष्कमा दुखि बनाउने हर्मोन उत्पादनमा कमि ल्याएर, खुशी दिने हर्मोनको वृद्धि गराएर डिप्रेशन ठिक गराउन सकिन्छ भने निद्रा बढि लगाएर डिप्रेशनको उपचार गरिन्छ । जब निद्रा बढि लाग्न थाल्छ तब व्यक्तिको दिमागमा नकारात्मक कुराहरु हराउन थाल्छ । नकारात्मक सोचाइहरु बिर्सन थाल्छ र डिप्रेशन ठिक हुन्छ । कुनैपनि समस्या परेको छ र उक्त परेको समयमा समस्या समाधान भएपछि व्यक्ति डिप्रेशनबाट मुक्त हुन्छ ।

घरेलु उपचार

१. लागु पदार्थको सेवन गर्न छोड्नुपर्छ । लागु पदार्थले कमजोर सोच बनाउँछ र डिप्रेशन बढाउने गर्छ ।
२. घरको माहोल राम्रो बनाउनुपर्छ ।
३. डिप्रेशन बिरामीको कुरा निसंकोच सुन्नुपर्छ ।
४. डिप्रेशनका बिरामीलाई सम्झाउने भन्दा उसले भनेको कुरा आफुले सुन्नुपर्छ र उसको कुरा आत्मसात् गराउनुपर्छ ।
५. घरको वा वरपरको वातावरण शान्त गराउनुपर्छ ।

डिप्रेशन हुनबाट बच्ने उपायहरू

१. डिप्रेशनबाट बच्न सबैभन्दा पहिले आफु र समयलाई बुझ्नुपर्दछ ।
२. मानसिक सोचाइ कमजोर बनाउने किसिमको पेय पदार्थ मापसे गर्नुहुँदैन ।
३. हरेक दिन सुत्दा निद्रा पुग्नेगरी सुत्नुपर्दछ ।
४. मस्तिष्कको क्षमता बढाउने किसिमका खानेकुराहरु खानुपर्दछ ।
५. पर्याप्त मात्रामा पानी पिउनुपर्दछ ।
६. अरुको बारेमा नराम्रो कुरा गर्ने, हेला गर्ने जस्तो काम गर्नुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्